News Portal

‘सीमामा धेरै समस्या छन्, जसको समाधान पनि सीमामै छ’

नवराज सुवेदी
१४० पटक

मेचीनगर, ६ चैत्र । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्रकुवेर खापुङ्गले सीमामा अनेकन समस्या रहेको जनाउँदै उक्त समस्याको समाधान पनि सीमामा बसोबास गर्ने नागरिकहरुसँगै रहेको बताएका छन् । सोमबार अशक्त प्रहरीहरुलाई स्कुटर वितरण कार्यक्रमका लागि काँकरभिट्टा आइपुगेका उनले सीमाको समस्या प्रहरी मात्रै नभएर समग्र नागरिकहरु मिलेर समाधान गर्नुपर्ने धारणा राखे ।

‘सीमामा लागुऔषध, मानव बेचबिखन, यातायात व्यवस्थापन, अवैद्य कारोवार लगायत थुप्रै समस्या छन् । जसको समाधानका लागि नेपाल प्रहरी सधैँ सक्रिय छ,’ उनले भने, ‘यस प्रकारका समस्या समाधानका लागि प्रहरी मात्रै नभएर हरेक नागरिक सक्रिय बन्नुपर्छ ।’ पछिल्लो समय लागुऔषध दुव्र्यसनीको समस्या देशैभर विकराल बनिरहेको उनको भनाई थियो ।

नियन्त्रणका लागि धेरै उपाय अपनाइएको भएपनि लागुऔषध दुव्र्यसनीको समस्या झन् बढ्दो क्रममा रहेको उनले सुनाए । ‘हिरासतमा रहेका करिब ९० प्रतिशत थुनुवा त लागुऔषध ओसार पोसारमै संलग्न रहेको पाइन्छ,’ उनले भने । सञ्चारकर्मीले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले प्रहरी सधैँ रचनात्मक आलोचना सुन्न तयार रहेको बताए ।

‘प्रहरीले गरेको सबैथोक ठिक नै हुन्छ भन्ने पनि छैन, यदि केही गलत भइरहेको छ भने रचनात्मक आलोचना गरिदिनुहोस,’ उनको आग्रह छ, ‘आपसी समझदारीका साथ अघि बढौँ, सबकुरा सम्भव छ ।’ पूर्वीसीमामा देखिएको समसामयिक समस्या, यात्रु संघर्षको दृष्य लगायतका सन्दर्भमा पनि नीतिगत स्तरमा छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्