News Portal

कुराकानी: ‘विभेदको स्वरुप फेरियो अवस्था उस्तै’

रातोपोस्ट संवाददाता
१८० पटक

झापा, ८ चैत्र । सिमा रसाइली नेकपा एमालेबाट निर्वाचित मेचीनगर नगरपालिका वडा न. ६ की दलित महिला सदस्य हुन् । जनताको प्रतिनिधित्वसँगै आफ्नो अध्यनलाई पनि सँगसँगै डोहार्याइरहेकी उनी जनप्रतिनिधिमा निर्वाचित भएपछि आफ्नो जीवनको शिलशिला नै नयाँ ढंगबाट अघि बढिरहेको अनुभव सुनाउँछिन् । जनप्रतिनिधिमा निर्वाचित भएको करिब २ बर्ष पुग्न लाग्दा उनको अनुभव कस्तो रह्यो ? प्रस्तुत छ रातोपोष्ट पत्रीकाले उनीसँग गरेको कुराकानी :

१. तपाँई दलित समुदायको प्रतिनिधित्व गर्दै जनप्रतिनिधिमा निर्वाचित भएको २ बर्ष पुग्न लाग्यो ? यस समयमा उक्त समुदायका निमित्त के के काम गर्नुभयो ?

धन्यवाद । सर्वप्रथम त यस संवादलाई पढिरहनुभएका तपाँई आम पाठक महानुभावलाई नमस्कार भन्न चाहान्छु । म निर्वाचित भएपछि एक आर्थिक बर्षको मात्रै योजनाहरु सम्पन्न भएका छन् । विविध कारणले यस आर्थिक बर्ष अन्तर्गतका कार्यक्रमहरु अब शुरु गर्ने योजनामा छौँ । अघिल्लो आर्थिक बर्षमा हामीले दलित समुदायको कार्यक्रमलाई प्राथमिकतामा राख्यौँ ।

युवाहरुलाई लक्षित गरी शिपमुलक तालिम आयोजना गर्यौँ । एक लाख बजेट अन्तर्गत एसएलसी दिएर बसेका युवतीहरुलाई प्राथमिकतामा राखी ब्युटी पार्लर तालिम दियौँ । १० जना सहभागी हुनुहन्थ्यो उक्त तालिममा । यससँगै समाजमा दलित समुदायप्रति हेर्ने नजर समेटेर ‘मुखुण्डो भित्रको मान्छे’ शिर्षकको नाटक विभिन्न स्थानमा सञ्चालन गर्यौँ ।
परिवर्तन थिएटरसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त नाटक अत्यन्तै प्रभावकारी बन्यो । समाजमा जनचेतना फैलाउने उद्देश्यका साथ यस प्रकारका विविध कार्यक्रम सञ्चालन गरेका थियौँ । यसबर्ष पनि सोही अनुरुप विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

२. हाम्रो समाजमा दलित समुदायलाई गरिने विभेद, जातीय भेदभाव पहिले भन्दा सुधार भएको छ की अवस्था यस्तै छ ? जनप्रतिनिधि भएर वडाका विभिन्न स्थानमा पुग्दा यस सन्दर्भमा के पाउनुभएको छ ?

पक्कैपनि समाज पहिलेभन्दा धेरै फरक भइसकेको छ । पहिलेभन्दा सचेत छ, शिक्षित छ । हाम्रा बुबा आमाको पालामा जुन अवस्था थियो । अहिले त्यस्तै अवस्था चाहिँ छैन । यद्यपी, विभेद भने कायमै छ । बाहिर जस्तो परिवर्तन देखिन्छ भित्र त्यहीअनुसारको परिवर्तन मैले चाहिँ पाएको छैन् । विभेदको स्वरुप फेरिएपनि अवस्था लगभग उस्तै देखिन्छ ।

तरपनि, यो साँचो हो कि । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । अझ हाम्रो वडा अधिकांश शहरी एरिया हो । यहाँ त गाउँका कुना कन्दरामा जस्तो देखिने खालको नै विभेद नहोला । तर, अवस्था यस्तो छैन । समाज सचेत बन्यो, शिक्षित पनि बन्यो । विभेद र भेदभाव पूणर् रुपमा हटेन । मै अन्योलमा छु । वास्तवमा यी सबै कुरामा परिवर्तन भएर साँच्चैको समृद्ध समाज कहिले बन्छ ?

३.वडामा बजेट बनाउँदा विभिन्न कार्यक्रमहरु निर्माण गर्दा दलित महिला सदस्यहरुलाई सोधिँदैन, प्राथमिकतामा राखिँदैन भन्ने पनि छ नि !

होइन । हाम्रो वडामा एकदम प्राथमिकताका साथ सोधिन्छ । योजना मागिन्छ, छलफल गरिन्छ । काम गर्न एकदमै सहज छ । हाम्रो टिम सक्रिय छ, वडाध्यक्ष ज्यू हरेक कुरामा छलफल गर्नुहुन्छ । महिला सदस्यलाई यस बर्ष कस्ता कार्यक्रम बनाउने, मलाई पनि यस बर्ष के कस्ता कार्यक्रम बनाउने भनेर सोधिन्छ अनि योजना तयार पारिन्छ ।

४. जनप्रतिनिधि हुनुभन्दा अघि तपाँई परिवारमा हुनुहुन्थ्यो । आमा, श्रीमती, बुहारी हुनुहुन्थ्यो । अहिले तपाँई जनप्रतिनिधि हुनुहुन्छ । सिंगो समुदायको नेतृत्वकर्ता हुनुहुन्छ । के फरक पाउनुभएको छ ?

धेरै फरक पाएको छु । विवाह गरेर आएपछि म केवल परिवारमा सिमित थिएँ । बाहिरि परिवेश खासै थाहा थिएन । राजनीति, नेतृत्व लगभग म अलमलमै थिएँ । तर, समय न हो । समयले सबै कुरा बुझाइदियो । हिजो परिवारमा सिमित म आज सिंगो समुदायको नेतृत्वकर्ता भएकी छु । हिजो सिमिति मानिसले चिन्थे भने आज सयौँ हजारौँले चिन्छन् ।
शुरुमा कसरी गर्ने ? के गर्ने ? अन्योलता थियो । तर, आँट, हिम्मत, सहास रहेछ । यहि हिम्मत नगरेको भए सायदै यस स्थानमा म हुन्थीँन होला ! आज सबैको सम्मान छ, साथ छ । आशा छ पक्कै सफल हुनेछु । सबैले साथ दिनुहुनेछ ।

प्रतिकृया दिनुहोस्