News Portal

मेचीनगरमा प्रभातफेरी र अन्तरक्रिया गर्दै मनाइयो क्षयरोग दिवस

रातोपोस्ट संवाददाता
४५ पटक

झापा , ११ चैत । झापाको मेचीनगरमा विश्व क्षयरोग दिवसकाे अवसरमा प्रभातफेरी गर्दै मनाइएको छ । मेचीनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान काँकरभिट्टा बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । विभिन्न सचेतनामुलक नारा लेखिएका प्ले–कार्डसहितका सहभागीहरुले काँकरभिट्टा परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो ।

र्याली काँकरभिट्टा बजारको मुख्यः चाैकमा परिक्रमा गर्दै स्वास्थ्य चौकीमा आएर अन्तरक्रियामा समेत भएकाे थियो । नगरका क्षयरोगी तथा आफन्त र सर्वसाधारणसहितको उपस्थितिमा भएको अन्तरक्रियामा मेचीनगर स्वास्थ्य शाखाकी संयोजक सविता निरौलाले क्षयरोग, यसका लक्षण, बच्ने उपाय र उपचारका बारेमा जानकारी दिएकी थिइन् । नगरलाई २०८२/ ०८३ सालमा क्षयरोग मुक्त घोषणा गर्ने कार्यक्रम रहेकाे हुनाले सोही अनुसार काम भईरहेको संयाेजक निराैलाले बताइन् ।

काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङले खासगरी शुरुमा क्षयरोगको लक्षण देखिनेबित्तिकै उपचारका लागि रोगी नआउनु नै सबैभन्दा ठुलो चुनौती रहेको बताए । ‘अहिले पनि क्षयरोगीहरु खुलेर उपचारका लागि नआउने, लुकेर बस्ने भएकाले गर्दा पनि क्षयरोग मुक्त गर्न समस्या भएको छ’ उनले भने ।

‘क्षयरोग अहिले जनस्तरमा निकै जटिल समस्याका रुपमा देखिएको छ’ काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले भने,‘यो धेरै पुरानो रोग भएपनि अझै नियन्त्रण गर्न सकिएको छैन नियन्त्रण बाहिर छ । ’ अहिले पनि समाजमा निकै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन् ।

अहिले नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण र क्षयरोगसम्बन्धी विभिन्न संघ संस्था र समूहहरुसँग समीक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशत फोक्सोको क्षयरोग हुने गरेको छ । झापा जिल्लामा २ हजार ५ सयभन्दा बढी मानिस क्षयरोगको सक्रिय संक्रमित भएको अनुमान गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्