News Portal

जेसीजको कार्गिल गोल्डकपमा बाहुण्डाँगीको विजयी

रातोपोस्ट संवाददाता
६२ पटक

झापा, १५ चैत । कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मेचीनगर-४, स्थित सरस्वती माविको खेल मैदानमा बिहीबार सम्पन्न उद्घाटन खेलमा रिक्की प्रधान र श्याम मुर्मुको समान १-१ गोलको मद्दतमा बाहुण्डाँगीले विजयी सुरुवात गरेको हो । खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै बाहुण्डाँगीका कप्तानसमेत रहेका प्रधानले टीमलाई अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा दोस्रो गोल गर्दै मुर्मुले अग्रता दोब्बर बनाए । विपक्षी टीमका गोलरक्षक केही अघि बढेको मौकालाई सदुपयोग गर्दै प्रहार गरेको उनको गोलले जाली चुमेको थियो । खेलमा कचनकवलले गोल गर्नका लागि विभिन्न अवसर बनाए पनि गोल भने गर्न सकेन । खेलको म्यान अफ द म्याच बाहुण्डाँगीका लागि पहिलो गोलकर्ता प्रधान घोषित भए । उनले ट्रफी र १५ सय नगद प्राप्त गरे ।

प्रतियोगिता अनुसार भोलिको खेल शनिश्चरे फुटबल क्लब भर्सेस रोलिङ क्लब धुलाबारी बीच हुनेछ । बिहीबारबाट सुरु प्रतियोगिता २२ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख एक हजार र उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उद्घाटन शत्रको प्रमुख अतिथि झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत रहेका थिए । उनले खेल क्षेत्रको विकासका लागि बाहुण्डाँगी जेसीजले चालेको कदमप्रती धन्यवाद ज्ञापन गरे ।

प्रतियोगीताको उद्घाटन शत्रमा प्रमुख अतिथि बस्नेतसँगै सहिद परिवारका तर्फबाट नेत्रराज थापा क्षेत्री, बाहुण्डाँगी जेसीजका संस्थापक अध्यक्ष नवीन बराल, मेचीनगर- ४ का अध्यक्ष अर्जुनकुमार कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बाहुण्डाँगी जेसीजका अध्यक्ष देबु बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्