News Portal

जामुनखाडी सामुदायिक वनकाे अध्यक्षमा स्वतन्त्रका गिरी निर्वाचित

रातोपोस्ट संवाददाता
४८ पटक

झापा, ७ बैशाख । झापाको कन्काई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा स्वतन्त्रका पर्शुराम गिरी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका दुईवटै प्यानललाई पराजित गरी स्वतन्त्र उम्मेदवार गिरी निर्वाचित भएका हुन् । गिरीले ४३१ मत ल्याएर शानदार जित हासिल गरिरहँदा नेकपा एमालेका उम्मेदवार सिता अधिकारीले १९२ र कांग्रेसका उम्मेदवार बुद्धिमान बोहोराले मात्र १४२ मत पाएका छन् ।

कनकाईमा शेरबहादुर थापा नेतृत्वको स्वतन्त्र समूहले यो तेस्रो जित हासिल गरेको हो । यसअघि स्वतन्त्रले खानेपानी उपभोक्ता समिति र प्रजापति सामुदायिक वन उपभोक्ता समूहमा जित हासिल गरिसकेको थियो ।

त्यस्तै सचिव पदमा पनि स्वतन्त्रकै उम्मेदवार विजयी भएका छन् । सो पदमा स्वतन्त्रका दीपक ओली २९८ मतसहित विजयी भएका हुन् । उनका प्रतिष्पर्धीहरु कांग्रेसका एस कुमार अधिकारीले २२१ र नेकपा एमालेका दीपक बोहोराले २१५ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेकी रेनुका खवास २६९ मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धीहरु स्वतन्त्रकी चन्द्रा बुढाथोकीले २२७ र कांग्रेसकी तारा कोइरालाले २२१ मत पाएका छन् । कोषाध्यक्षमा कांग्रेसकी चेतकुमारी सापकोटा ३४३ मतसहित निर्वाचित भएकी छन् ।

त्यस्तै सदस्यहरुमा चित्रकुमार श्रेष्ठ , अर्जुनकुमार गिरी , गीता गुरागाँई , दिलबहादुर गिरी निर्वाचित भएका छन् भने बलबहादुर भुजेल , उषादेवी भुजेल , लुमा दाहाल अधिकारी , अशोककुमार न्यौपाने र जानुका गुरागाँई निरौला सदस्यमा सर्वसम्मत भएका छन् । निर्वाचित सदस्यहरुमा स्वतन्त्रका दुई तथा कांग्रेस र एमालेका एक–एकजना रहेका छन् । निर्वाचनमा तीन वटा प्यानल होमिएका थिए । स्वतन्त्र उम्मेदवार पर्शुराम गिरी, एमालेकी सिता अधिकारी र कांग्रेसका बुद्धिमान बोहोराको नेतृत्वमा तीनवटा प्यानल चुनावी मैदानमा होमिएका थिए ।

प्रतिकृया दिनुहोस्