News Portal

सदस्यता सूची नसच्याए तालाबन्दी गर्ने समाजवादी प्रेस संगठनको चेतावनी

रातोपोस्ट संवाददाता
१७९ पटक

काठमाडौँ, १३ जेठ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको नेतृत्वलाई सदस्यता सूचीमा भएको जालझेल तथा तिकडमबाजीलाई २४ घण्टाभित्र सच्याउन माग गरेको छ । सूची नसच्याए देशव्यापी रूपमा हुने तालाबन्दीसहितका प्रतिकार सामना गर्न महासंघ नेतृत्वलाई तयार रहन चेतावनी दिएको हो ।

नेपाल पत्रकार महासंघको गत वैशाख २१–२२ गते काठमाडौँमा सम्पन्न २७ औँ महाधिवेशनले निर्देश गरेबमोजिम यही जेठ महिनाको २६ गते सम्पन्न हुनुपर्ने तीनै तहको निर्वाचनपूर्व प्रकाशित गरिनुपर्ने सूचीमा गम्भीर जालझेल भएको अध्यक्ष विश्वमणि सुवेदीले आरोप लगाएका छन् । गैरपत्रकारलाई निर्णायक मतदाता बनाउने कार्यमा केही पदाधिकारी तल्लीन भएको सुवेदीको भनाई छ ।

यसअघि सदस्यता शुद्धीकरणका क्रममा भएका विभेदपूर्ण सिफारिसलाई सच्याउनका निम्ति महासंघले उजुरी छानबिन गर्ने चार सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको थियो । सोही कार्यदलका सदस्यहरूको उपस्थितिमा जेठ ८ गते देशभरिको सदस्यता सूची तयार पारिएको थियो । उक्त सूचीमा छुटेका सदस्यका हकमा मुख्यमुख्य संगठनबिच छलफल गरी सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने भनिएको थियो । तर, चार सदस्यीय कार्यदलले सदस्यता सूचीलाई अन्तिम रूप दिएपछिको नामावली निर्वाचन समितिलाई बुझाउनुको सट्टा रातारात कतिपय गैरपत्रकारका नाम सदस्यका रूपमा थप्ने, कतिपय नाम हटाउनेजस्ता काम भएको संगठनको आरोप छ ।

‘विशेषतः प्रेस चौतारीले महासंघ नेतृत्वमा रहेका प्रेस सेन्टरसम्बद्ध पदाधिकारीमार्फत शुद्धीकरणबाट गुमेको आफ्नो सङ्ख्या पुर्ताल गर्ने नाममा त्यस्तो काम गरेको छ । ती नाम थप्ने क्रममा हाम्रो संगठनमा आबद्ध रही पत्रकारिता मात्रै गर्ने थुप्रै पत्रकारका नाम रातारात गायब पारिएको छ । हामी यस्तो अनैतिक तथा निन्दनीय कार्यको घोर भर्त्सना गर्दछौँ । तसर्थ, यस्तो छलछामपूर्ण सदस्यता सूची स्वीकार गर्ने पक्षमा छैनौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्