News Portal

चर्चित गायक सरोजले ल्याउँदै ‘किनभने हामी साथी हौं’

रातोपोस्ट संवाददाता
२४२ पटक

झापा, २१ जेठ । नेपाली गीत संगीतका चर्चित गायक तथा निर्देशक सरोज ओलीले बालापनाका साथीहरुको कथावस्तुलाई समेटेर बनाएको गीतको भिडियो सुटिङ गरिएको छ । सँगसँगै पढेको, सँगसँगै खेलेको, बालापनका साथीहरू, आज भेटेको जो जो जहाँ पुगेनि भेट हुँदा हामी उस्तै छौँ, दुःख सुख बुझ्दछौँ किनभने हामी साथी हौँ बोलको गीतको भिडियो झापा तथा इलामका विभिन्न ठाउँहरुमा सुटिङ गरिएको हो ।

गीतका रचनाकार समेत रहेका ओली झापा मेचीनगरको मागुरमाडी निवासी हुन् । हाल उनले काठमाडौंलाई कर्मथलो बनाएर नेपाली गीत संगीतको क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन् । सरोजका प्राय सबै गीत हिट भइसकेका छन् । त्यतिमात्रै होइन, उनले निर्देशन गरेका सबै गीतहरु युट्युव ट्रेडिङमा पर्ने गरेका छन् ।
मेचीनगरको कविशिरोमणि माविमा अध्ययन गरेका सरोजले आफ्नै स्कूले साथीहरुलाई भिडियोमा अभिनय गराएका छन् । २०५७ मा एसएलसी उत्तीर्ण गरेका सरोजले तिनै ब्याजी साथीहरुको अध्ययन, जीवन भोगाई र मित्रताको प्रगाढ सम्बन्धलाई गीतमा उतारेको निर्देशक तथा गायक ओलीले बताए ।

‘स्कूले जीवनका साथीहरु भन्दा माथि कोही पनि हुँदो रहेनछ । ‘त्यो बेलाको जिन्दगी सधैँ यादगर बन्दोरहेछ,’ गायक सरोजले भनेका छन्, ‘मैलै जीवनमा सबैथोक कमाएँ होला । तर, त्यो बेलाको साथीभाईहरु जस्तो अहिलेसम्म कमाउन सकेको छुइन ।’ उनले यही अनुपम सम्बन्धलाई पर्दामा उतार्ने प्रयास गरेका हुन् । स्कूले साथीभाई भन्ने बित्तिकै हुरुक्कै हुने सरोजले उक्त गीतको भिडियो सुटिङ मेचीनगरको कविशिरोमणि मावि, शान्तिनगरको बर्ने तथा इलामको रमणीय स्थल कन्यामका विभिन्न ठाउँमा गरेका छन् ।

स्कूले ब्याजी साथीहरु उदय सिवाकोटी, भुपेन्द्र पाठक, झुलन रेग्मी, पारस डाँगी, राजु धिमाल, कुन्दन भट्टराई, सन्तोष तिवारी, यामनाथ खरेल, विष्णु घिमिरे, विश्वास भण्डारी, पवन पौडेल, ईश्वर घिमिरे, दिवस भण्डारी, राजु बस्नेत, नवराज पौडेल लगायतले भिडियोमा अभिनय गरेका छन् । उक्त गीतको भिडियोमा नायिका प्रियंका कार्कीको समेत अभिनय रहने बताइएको छ । अहिले गीतको मिक्सिङ गर्ने काम भइरहेको छ । उक्त गीत असार पहिलो साता रिलिज गर्ने तयारी भइरहेको गायक तथा निर्देशक ओलीले बताए ।

प्रतिकृया दिनुहोस्