News Portal

प्रदेश सरकारको बजेट जनताको हितमा छैनः सांसद बजगाई

रातोपोस्ट संवाददाता
१४२ पटक

विराटनगर, ६ असार । कोशी प्रदेश सरकारले ल्याएको ०८१/ ८२ को बजेट सीमित व्यक्ति केन्द्रित भएको जनाउँदै राप्रपा कोशी प्रदेशले आपत्ति जनाएको छ। बुधबार विराटनगरस्थित प्रदेशसभा बैठक सुरु हुँदै गर्दा राप्रपाकी प्रदेश सभासदस्य सविना बजगाईले रातो किताब सीमित व्यक्ति केन्द्रित भएको हुँदा बैठक बहिष्कार गरेको बताएकी थिइन्।

सभामुख अम्बरबहादुर विष्टले बैठकमा शून्य समयबारे जानकारी दिइरहँदा बजगाईले बजेटले प्रदेशको जनतालाई अपनत्व गर्ने अवस्था नदेखिएको बताइन्। प्रदेश सभाको अर्थसमिति सदस्य रहेकी बजगाईंले भनिन्, ‘हामीले १२ भाइ सुनेका थियौं। तर बजेट हेर्दा यो प्रदेशमा ४ भाइ मात्रैको योजना रातो किताबमा भेटिएको महसुस गरेका छौँ।’ प्रदेश सभासदस्य बजगाईको चार भाइमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम रानामगर, भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती र नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्ग्बो छन्।

प्रदेश सभासदस्य बजगाईले भनिन्, ‘हाम्रा क्षेत्रका पनि जनताले माग गरेका अति आवश्यक योजना थिए होलान्। तर हाम्रो योजनालाई सरकारले समावेश गर्न सकेन।’ बजेट सिलिङका क्रममा प्रदेश सभासदस्य तोकिएको रकमबारे उनले भनिन्, ‘सरकारले बजेट सिलिङ तोकिरहदाँ हामीलाई असहज महसुस भएको छ। सिलिङका क्रममा तपाईहरुलाई १ करोड ५० लाखको योजना ल्याउन भनिए पनि जनताको आवश्यकताअनुसार योजना दिन सक्नु भएन। उहाँहरुले आफ्नो आफ्नो पैतृक सम्पत्ति दिएजस्तो गर्नुभयो। फलानोलाई यति उहाँलाई यति भनेजसो महसुस गरेका छौं ।’

प्रदेश सरकारको बजेट जनताको हितमा नआएको जनाउँदै प्रदेश सभासदस्य बजगाईले भनिन्, ‘प्रदेश सरकारको बजेट अमुक ब्यक्तिको नाममा आएको छ। एउटा मन्त्रीको सीमित क्षेत्रमा ४० देखि ५० वटा अरबौं रकमको बजेट राखिएको हुदाँ यो आर्थिक वर्षको बजेटमा आपत्ती जनाएका हौ। बजेट मन्त्री र उहाँ निकट माननीय ज्यूको क्षेत्रमा परेको छ।’ राप्रपाले बैठक बहिस्कार गर्नुपूर्व नेपाली काँग्रेस कोशी प्रदेशले समेत बजेटबारे असन्तुष्टि ब्यक्त गर्दै प्रदेश सभा बैठक बहिस्कार गरेको थियो।

प्रतिकृया दिनुहोस्