News Portal

मेचीनगर सभामा वडाध्यक्षले जनाए आपत्ति

रातोपोस्ट संवाददाता
४२३ पटक

झापा, ११ असार । मेचीनगर नगरपालिकाले नगरसभाको उद्घाटन् कार्यक्रममा संघीय, प्रदेश सांसद र नगरका राजनीतिक दललाई वेवस्ता गरेको भन्दै नेपाली कांग्रेस निकट वडाध्यक्षहरुले विरोध जनाएका छन् ।

मेची नगरपालिकाले सोमबार आयोजना गरेको दोस्रो नगरसभाको उद्घाटन् कार्यक्रममा संघीय, प्रदेश सांसद र नगरका राजनीतिक दलहरुलाई सहभागि नगराएपछि उनीहरुले नगर सभाप्रति गम्भीर आपत्ति जनाएका थिए । नगरसभामा मेयर गोपालचन्द्र बुढाथोकीले संघ र प्रदेशका सांसद तथा नगरका राजनीतिक दललाई आधिकारिक निम्तो नै नगरी आर्थिक वर्ष २०८१/ ०८२ का लागि बार्षिक बजेट प्रस्ताव पेश गरेको भन्दै कांग्रेस निकट वडाध्यक्षहरुले विरोध गरेका हुन् ।

नगरले आगामी आर्थिक वर्ष २०८१/८२ को २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट पेस गरेको छ । उक्त दोस्रो नगरसभामा सहभागी मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङले नगरका राजनीतिक दलहरूलाई नबोलाएको भन्दै विरोध जनाएका थिए । नगर अधिवेशनमा संघीय र प्रदेश सांसदहरूलाई किन निम्तो गरिएन, स्थानीय राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई किन सहभागी गराइएन, राजनीति दललाई सहभागी नगराउनुको पछाडि नगरपालिकाका मेयर र उपमेयरको के उद्देश्य छ ? भन्दै वडाध्यक्ष तामाङले प्रश्न गरेर सभाको विरोध गरेका थिए ।

सोही बिषयलाई लिएर नगरको बार्षिक नीति तथा कार्यक्रमको प्रस्तावित बजेटका लागि राजनीतिक दललाई सम्बोधन नगर्नुले नगरपलिकालाई असर पर्ने भन्दै वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले पनि चर्को स्वरमा बिरोध गरेका थिए । उनले विगतमा संघ र प्रदेश र नगरका राजनीतिक दलहरुका प्रमुखलाई बोलाएर बजेट विषयमा राय लिने र दिने गरेको बताउँदै यसपाली भने नगर सभामा राजनीतिक दललाई बोलाउन नगर सरकार किन डराएको हो भनि नगर प्रमुखलाई प्रश्न गरेका थिए ।

उता नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरुले मेचीनगरले स्थानीय राजनीति दललाई सम्बोधन नगरेको भन्दै अघोषित रुपमा बिरोध जनाएको बताए । नगरको समग्र विकासका लागि बिगतमा भएका वार्षिक बजेट नीति कार्यक्रममा राजनीति दलसँग सहकार्य गरेर नै गरिन्थ्यो । तर, यो पटकको नगरसभामा कुनैपनि राजनीति दललाई सम्बोधन नगर्नुले नगरपालिका कार्यसम्पादन गर्ने नेतृत्वको नियत नै गलत आशय बुझिएको सभापति पनेरुको भनाई थियो । उनका अनुसार नगरका नेतृत्वले गतिविधिलाई सच्याउन समेत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्