News Portal

एसइइमा झापा टप बनिन् कुशिका बस्नेत

रातोपोस्ट संवाददाता
१०७ पटक

झापा, १४ असार । झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी मात्र हुन् । कमल-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइइ दिएकी थिइन् । उनी सो विद्यालयमा कक्षा २ देखि पढ्न थालेकी कुशिकाका बुवा कुमारले बताए ।

कक्षा १ सम्म पाडाजुँगीकै स्टार बोर्डिङमा पढेकी कुशिकालाई आफूहरुले कहिल्यै पनि ‘पढ् छोरी’ भनेर भन्नु नपरेको बुवा कुमारले जानकारी दिए । छोरीको परीक्षाफल सुनेर भावुक बनेका उनी मेची सहकारीको कर्मचारी हुन् भने कुशिकाकी आमा तुलसा बस्नेत पाडाजुँगीको लगनशील सहकारीमा काम गर्छिन् ।

बुझ्ने भएदेखि नै आफू एमबिबिएस पढ्छु भन्ने कुशिकालाई जसरी भए पनि चिकित्सा शिक्षा पढाउने बुवाआमाको इच्छा छ । कुशिका परिवारकी एक मात्र सन्तान हुन् ।

२०६५ साउन ४ गते जन्मिएकी उनले एकपटक सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिने र नभए आफूले एसइइ उत्तीर्ण गरेको सिद्धार्थमै पढ्ने बताइन् । यसैबीच, बिर्तामोडको वाल्मीकि एजुकेसन फाउन्डेसनकी सिम्रन भुसालले ३.९५ जिपिए ल्याएकी छन् ।

प्रतिकृया दिनुहोस्