News Portal

मेचीनगरमा सामुदायिक विद्यालयका ६९ प्रतिशत विद्यार्थी फेल

रातोपोस्ट संवाददाता
९९ पटक

झापा, १४ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मेचीनगरका सामुदायिक विद्यालयतर्फ ६९ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन् ग्रेडिङ) भएका छन्। नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले दिएको जानकारी अनुसार एसईइमा मेचीनगर सामुदायिक विद्यालय तर्फबाट ६९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्। गत चैत १५ देखि चैत १६ गतेसम्म सञ्चालित एसईई मेचीनगर सामुदायिक विद्यालयतर्फबाट कूल १ हजार ५८ जना विद्यार्थी सहभागी भएकोमा ती मध्ये ३१ प्रतिशत मात्र अर्थात् ३ सय २२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

१ हजार ५८ जना मध्ये ३ सय २२ जनाले कक्षा ११ मा अध्ययन गर्न पाउने गरिको प्रारम्भिक नतिजा प्राप्त भएको छ । ७ सय ३६ जना विद्यार्थी भने अनुत्तीर्ण भएको नगर शिक्षा शाखा प्रमुख भण्डारीले जानकारी दिए।

मेचीनगरमा यस पालिको एसईईको नतिजा निकै निराशाजनक आएको नगर शिक्षा शाखा प्रमुख भण्डारीले बताए। भण्डारीले भने,‘ यसपालि मेचीनगरको एसईईको रिजल्ट राम्रो छैन। निकै निराशाजनक र कमजोर देखियो। अब यसबारे सरोकारवालाले समीक्षा गर्नुपर्छ।’

मेचीनगरमा सामुदायिकतर्फकाे नतिजा

१) बाल कल्याण माविबाट २७ मध्ये १९ जना पास

२) पवित्र माविबाट १७ मध्ये १० जना पास

३) जनता माविबाट २९ मध्ये १४ जना पास

४) बाल सुबोधनी माविका ३८ मध्ये १५ जना पास

५) धुलाबारी माविबाट ३२६ मध्ये १२५ जना पास

६) दशरथचन्द माविका ४९ मध्ये १६ जना पास

७) मेची जनसाधारण माविबाट ४४ मध्ये १४ जना पास

८) भानु माविबाट ५४ सहभागीमा १४ जना पास

९) आदर्श माविबाट १२४ मध्ये ३२ जना पास

१०) सरस्वती बाल कल्याण माविका ८४ मध्ये २१ जना पास

११) अरनिको माविबाट ३३ मध्ये ८ जना उत्तीर्ण छन् ।

१२) सरस्वती माविबाट १३ मध्ये ३ जना

१३) बलभद्र जनता माविबाट ३८ मध्ये ७ जना पास

१४)काँकरभिट्टा माविबाट ८८ मध्ये १६ जना पास

१५) कवि शिरोमणी माविबाट ४२ मध्ये ४ जना पास

१६) ज्यामिरगढी माविबाट ३३ जनामा ३ जना पास

१७) पशुपति माविबाट १९ मध्ये १ जना पास

मेचीनगरबाट १७ सामुदायिक र ३८ संस्थागत गरी ५५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।

प्रतिकृया दिनुहोस्