News Portal

कोशी प्रदेशकै लामो झोलुङ्गे पुल बुद्धशान्तिमा शिलान्यास

रातोपोस्ट संवाददाता
१४२ पटक

झापा, २५ असार । झापाको बुद्धशान्ति गाउँपालिकामा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा-६ र ७ जोड्ने टिमाई खोलामाथि निर्माण हुने ४ सय ७६ मिटर लम्बाईको झोलुङ्गे पुलको साेमबार एक कार्यक्रमकाबीच झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गरेका छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको यो पुल सञ्चालन भएपछि बुद्धशान्ति- ६ सहित इलामको रोङ गाउँपालिको वडा- ५ र ६ का स्थानीयहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न समेत सहयोग पुग्नेछ। थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । निर्माणको कामलाई तिब्रता दिएर २०८३ वैशाख मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले जानकारी दिए।

कोलबुंगे गौंडा रमिते झोलुङ्गे पुल कोशी प्रदेशकै सबैभन्दा लामो र नेपालको तेस्रो लामो पुल हुने बताइएको छ । यस अघि सुदुरपश्चिमको दोधारा चाँदनी झोलुङ्गे पुल र पर्वत जिल्लाको कुश्मामा रहेको झोलुङ्गे पुल यो भन्दा लामो रहेको छ । बुद्धशान्ति गाउँपालिका वडा- ७ का वडा अध्यक्ष चन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न शिलान्यासको औपचारीक कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष शिवाराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । उक्त अवसरमा प्रदेश सांसद गोपाल तामाङ, निर्मला तावा, गाउँपालिका अध्यक्ष मनोज प्रसाई, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाली काँग्रेस क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, काँग्रेस नेता राम कट्टेललगायतको उपस्थिति रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्