News Portal

बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने

रातोपोस्ट संवाददाता
८६ पटक

झापा, २६ असार । बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनबीच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गरेका छन्।

नगर प्रमुख प्रसाईँले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाव दिइन । उनले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि जटिलताहरू धेरै भए पनि प्रयास आवश्यक रहेको धारणा राखिन । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर प्रमुख प्रसाईँको भनाई छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि करुणा फाउन्डेसनले कोशीका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन गर्दै छ । बिर्तामोडसहित झापाका ११ वटा पालिकामा सम्झौता सम्पन्न भएको कार्यकारी निर्देशक सापकोटाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाले पाँच वर्ष अघि नै गर्नु पर्ने यो कार्यक्रम ढिलै भए पनि सञ्चालन हुन लागेको भन्दै नगरपालिका प्रति खुशिव्यक्त गरे। कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरूको पुनःस्थापना र सेवा प्रवाह गर्ने संस्थाहरूको सुदृढीकरणका विषयमा प्रमुख रुपमा काम गर्ने संस्थाका पाँचथर संयोजक केदार भण्डारीले जानकारी दिए ।

कोशी प्रदेशका अन्य जिल्लाहरू मध्ये अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या झापामा उच्च छ । बिर्तामोडमा मात्रै १२ सय भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ । करुणासँगको सम्झौता अवधि ३ वर्षको छ । बिर्तामोडमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको ३९ लाख, बिर्तामोड नगरपालिकाको ३५ लाख र करुणा फाउन्डेसनको ३५ लाख रुपैयाँ बजेट रहेको जनाइएको छ । सम्झौता आगामी साउन १ गतेदेखि लागू हुने छ । प्रत्येक पालिकामा आवश्यकताको आधारमा सहजकर्ता नियुक्त गरेर कार्यक्रम अघि बढाउने करुणा फाउन्डेसनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्