News Portal

शैक्षिक अन्तरक्रिया : ‘शिक्षा शाखाकाे चाकडी गर्दैमा समय जान्छ’

रातोपोस्ट संवाददाता
१११ पटक

झापा, ५ साउन । शैक्षिक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले विद्यालयमा भौतिक संरचना, नियमन र अनुगमनको अभाव, चाकडी जस्ता समस्या ब्याप्त रहेको बताएका छन् । नागरिक समाज बाहुण्डाँगीले शनिबार मेचीनगर–२ स्थित भानु माविको सभाहलमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले सो बताएका हुन् । कार्यक्रममा सुझाव प्रस्तुत गर्दै दिपेन्द्र आविकी प्रअ शान्ता निरौलाले राम्रो गर्ने शिक्षकलाई प्रोत्साहन र पुरस्कृत गर्नु पर्ने बताइन् ।

उनले शिक्षक अब प्रअ होइन समाजप्रति जिम्मेवार भएर काम गर्नुपर्ने धारणा राखिन् । उनले प्रधानाध्यापकहरुले शिक्षा शाखा, सरकार वा नेतृत्वसँग चाकडी गर्दैमा समय खेर फाल्नु परेको तितो यथार्थ प्रअहरुले बोकेर हिँड्नु परिरहेको बताइन् । साना स्कुलहरुमा लगानी गर्नु भनेको सुकेको रुखमा पानी हाल्नु हो भन्ने जवाफ जिम्मेवार निकायबाट पाउने गरेको दुखेसो गर्दै निरौलाले अनुगमनका लागि स्थानीयस्तर बाटै व्यवस्थापन गरी नागरिक समाजले नियमन, अनुगमन गर्नु पर्ने धारणा राखिन् ।

व्यवस्थापन समिति र शिक्षक बीचमा कहिल्यै बैठक, छलफल नहुनाले खाडल सिर्जना भइ रहेको बताइन् । कृष्ण आधारित विद्यालयका प्रअ राजन गिरीले सामुदायिक विद्यालयमा कैयन समस्या रहेको बताउँदै तलब भत्ता बाहेक संचालन, व्यवस्थापनका रकमको चरम अभाव हुने गरेको बताए । उनले बिजुली, खानेपानी, साँकृतिक कार्यक्रम, खेलकुद लगायतका गतिविधि गर्न चरम आर्थिक अभाव भएको बताए । उनले कुनै कुनै विद्यालयले विलासिताका लागि बस किनिरहेका तर, दुर्गमका विद्यालयमा बस्ने डेस्क बेन्चको अभाव सहनु परेको बताए ।

मेची जनासाधारण माविका प्रअ चन्द्रशेखर गुरागाईँले विद्यार्थीहरु आर्थिक अवस्था कमजोर भएमा मात्र सामुदायिक स्कुल पढ्नु पर्छ भन्ने मानसिकता हावी भएको बताए । उनले नतिजा सुधार गर्न तल्ला कक्षाहरु बाटै ध्यान दिनुपर्नेमा जोड दिए । मेचीनगर–१, का सुर्य राईले सरकारी स्कुल छाडेर विद्यार्थी किन निजी स्कुल गइरहेका छन् । यसकाे जवाफ खोज्ने हो भने समस्याको समाधान पाईने बताए ।

वडा नं ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले कमजोर नतिजाप्रति सबैभन्दा बढी जिम्मेवार शिक्षकनै भएको टिप्प्णी गरे । उनले आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न आग्रह गरे । उनले शैक्षिक सुधार गर्न ४ वटै वडाले सहयोग गर्ने र साउन भित्रमै योजना बनाएर अघि बढ्न सुझाव राखे । कार्कीले विद्यालयमा गुणस्तर कायम गर्न पैसाको अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

शिक्षक पुष्कर ढकालले धुलाबारी माविले गाडी किनेर बाहुण्डाँगीका विद्यार्थी लैजाने हो भने विद्यालयको ‘क्याचमेन’ एरिया हटाउनु पर्ने बताए । उनले शिक्षक राजनीतिबाट अलग रहनुपर्ने धारणासमेत राखे । शिक्षक विष्णु अधिकारीले विद्यालयमा राजनीति हावी भएकाले विद्यालय खस्कदै गएको बताए । शिक्षक कक्षा कोठामा ढिलो गएर छिटो आउने, गुट कायम गर्ने, विद्यार्थीले बुझेर, नबुझेर आफ्नो काम सकियो भन्ने प्रवृत्ति बढेको बताए । उनले वर्ष भरिमा नियमन र सुपरिवेक्षणको जिम्मा पाएको शिक्षा शाखा एकपटक पनि आफ्नो विद्यालयको अनुगमनमा नपुगेको बताए ।

टेकचन्द्र फुयाँलले शिक्षक कर्मचारीका छोराछोरीहरु सरकारी विद्यालयमै अनिवार्य पढाउनु पर्ने नीति राज्यले ल्याउनु पर्ने बताए । पूर्व शिक्षक हरि न्यौपानेले विद्यालय व्यवस्थापन समिति पदाधिकारी समेत कक्षामा प्रवेश गरी अनुगमन गर्न पाउनु पर्ने, पर परका विद्यार्थी ओसार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । पूर्व प्रअ सोम आचार्यले बहसको क्रममा समस्या मात्र थुप्रिएको बताउँदै समाधानका उपायहरुको खोजी गर्नुपर्ने बताए ।

बिशालकृष्ण बास्तोलाले अनुगमन र नियमनलाई प्रभावकारी नबनाइन्जेल शिक्षा सुधार हुन नसक्ने बताए । बास्तोलाले शिक्षाका कर्मचारी ‘एसि कोठा’बाट निस्किएर तातोघाममा कक्षा कोठासम्म जानै डराएको आरोप लगाए । प्रअ खड्गकुमारी तिम्सिनाले विद्यालयका चुहिने छानाका बीच पठनपाठन गर्नुपर्ने बाध्यता रहेकाले स्थानीय निकायको सहयोग आवश्यक रहेको बताईन् । उनले समग्र बाहुण्डाँगीको शैक्षिक अवस्था सुधार गर्न तल्ल्लो कक्षाबाटै ध्यान दिनुपर्ने बताए ।

वडाध्यक्ष दिपक बरालले यहाँका विद्यालयमा कक्षा ११ र १२ को कक्षा संचालन गराउन विकास निर्माण कटाएर भएपनि विद्यालयलाई सहयोग गर्ने बताए । बरालले भने,‘बरु कलवर्ट र बाटा नबनाउला तर, कक्षा ११/१२ पढाउन वडाको तर्फबाट सहयोग गर्ने रहन्छ ।’नागरिक समाज बाहुण्डाँगीका अध्यक्ष निलकण्ठ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका चन्द्र ढकाल, संचालन पोषककुमार दर्जी र ज्ञानेन्द्र ढुंगानाले गरेका थिए ।सोअवसरमा भानु माविका सहायक प्रअ ज्ञानेन्द्र ढुङ्गाना र सामाजिक अभियन्ता गोविन्द न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक स्कुलका समस्या र तिनका समाधानका उपायहरु सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्