News Portal

कोशीमा एमाले-कांग्रेसबीच ४–४ मन्त्रालय लिने सहमति

रातोपोस्ट संवाददाता
१०५ पटक

विराटनगर, १२ साउन । सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेशमा मन्त्रालय भागबन्डा टुंग्याएका छन्। शुक्रबार नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर सरकार छाडेलगत्तै शनिबार काठमाडौंमा मुख्यमन्त्री हिक्मत कार्की र कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री उद्वव थापासहितका नेताहरुको छलफलले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो।

कांग्रेस संसदीय दल नेता उद्वव थापाका अनुसार प्रदेश सरकारमा कांग्रेस र एमालेले ४/४ मन्त्रालय पाउने सहमति भएको छ। कांग्रेसले माओवादीले छाडेको मन्त्रालय पाउनेछ। नेता थापाका अनुसार कांग्रेसले पाउने चारमध्ये तीन मन्त्रालय टुंगिसकेको छ। भौतिक पूर्वाधार, स्वास्थ्य र वन, वातावरण तथा पर्यटन मन्त्रालय कांग्रेसले पाउने छ।

त्यस्तै मुख्यमन्त्री कार्कीले सामाजिक विकास र कृषिमध्ये एउटा मन्त्रालय कांग्रेसलाई छानेर लिन भनेका छन्। ९ सदस्यीय मन्त्रिपरिषदमा एमालेका तीन मन्त्री यसअघि नै सरकारमा छन्। कृषि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हालेका छन्। अब सरकारमा एमालेको मुख्यमन्त्रीसहित ५ र कांग्रेसको चार मन्त्री हुनेछन्।

मुख्यमन्त्री कार्की र कांग्रेसका दल नेता थापाबीच सरकार आलोपालोबारे पनि छलफल भएको छ। एक नेताका अनुसार सरकारको आलोपालोबारे भने संघबाट स्वतः निर्धारण हुनेगरी सहमति भएको छ।’अर्थात् संघमा हालका प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गरेकै दिन कोशीमा पनि सरकार हस्तान्तरण हुन्छ,’ ती नेताले भने। कोशीमा वैशाख २७ मा एमाले र माओवादी केन्द्रले सरकार बनाएका थिए। संघमा समीकरण फेरिएपछि कोशीमा पनि शुक्रबार माओवादी सरकारबाट बाहिरिएको थियो।

प्रतिकृया दिनुहोस्