News Portal

भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्चको आदेश

रातोपोस्ट संवाददाता
५८ पटक

काठमाडौं, ९ भदौमा । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनले भने,‘अदालतले सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ,अब अनिवार्य गर्न पाइँदैन।’

उनका अनुसार मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने विषय कार्यान्वयन गर्न पाइने छैन। असार २८ गते राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको भन्दै अधिवक्ता रामबहादुर राउतसहितले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

साउन ७ गते गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पनि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सबै स्थानीय तहहरूलाई निर्देशनसहित परिपत्र गरेको थियो। तर,हाल पनि स्थानीय तहहरूले विभिन्न बहाना लगाएर ज्येष्ठ नागरिकहरुलाई दुस्ख दिइरहेका छन्। मन्त्रिपरिषदबाट जेठ २४ मा सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गते राजपत्रमै सूचना प्रकाशन भएको थियो। त्यसपछि यसको चौतर्फी विरोध भएको थियो।

प्रतिकृया दिनुहोस्