News Portal

एकीकरण बाँकी छ-सिके लाल

रातोपोस्ट
७३७ पटक

सन्दर्भ : पृथ्वीजयन्ती

२५० वर्षअघिका युद्ध नायक पृथ्वीनारायण शाहलाई प्रत्येक वर्ष सम्झँदै आफूलाई गौरवान्वित ठान्नुमा नेपाली नागरिकभित्रको कुन मनोविज्ञानले काम गरिरहेको पाउनुहुन्छ ? 
उस्तै किसिमका मान्छे र समुदायबीच ऐक्यबद्धता कायम गर्दै आज हामी जे छौँ पृथ्वीनारायण शाहकै कारणले छौँ भन्दै त्यो विचारलाई थप अघि बढाउन चाहने मनोविज्ञान यसमा रहेको भन्न सकिन्छ । दोस्रो, जसलाई पराजित गरेर विजय प्राप्त गरिएको हो ती समुदायलाई उनीहरूको वास्तविक धरातल सम्झाइराख्ने चाहना पनि यसमा अन्तरनिहित छ । यो देशको निर्माण कसले गरेको हो ? यो देशको रक्षा कसले गरेको हो ? को विजेता हुन् र को पराजित हुन् ? यो सबैले बुझुन् भन्ने उद्देश्य यसभित्रको मनोविज्ञान हो । अर्थात् पटक–पटक यसलाई दोहोर्‍याएर आफू शासक समुदायको भएको र अन्य दोयम दर्जाका हुन् भन्ने मनोविज्ञानतर्फ यसले संकेत गर्छ ।
असली हिन्दुस्तानको चाहना बोकेर राज्य विस्तारमा लागेका व्यक्तिलाई गणतन्त्र र धर्म निरपेक्ष देशका मूल स्तम्भ, जसमा शक्तिको स्रोत नेपाली सेना र ज्ञानको स्रोत प्रज्ञा प्रतिष्ठानले आजसम्म महिमामण्डित गर्नुलाई कसरी हेर्नुभएको छ ?
पहिलो कुरा त, वास्तवमा पृथ्वीनारायण शाह असली हिन्दुस्तानाकै निर्माण गर्ने भनेर विजय अभियानमा लागेका थिएनन् । उनी खास, लोभका कारण यो अभियानमा लागेका थिए । दरिद्र रजौटाको मुखिया रहेका उनलाई काठमाडौं उपत्यकाको सम्पन्नताले नलोभ्याउने कुरै थिएन । तर, पछि उनलाई के लागेको हुनुपर्छ भने आफ्नो लोभको अभियानलाई कुनै ठूलो अभियानसँग जोड्न सकेमा विजय अभियान सजिलो हुन्छ । अनि बल्ल उनले आफ्नो अभियानलाई हिन्दुकरणसँग जोडे र असली हिन्दुस्तानाको परिकल्पना ल्याए ।

खासमा आफ्नो लोभको अभियानमा बाहुन–क्षेत्रीलाई जोड्न उनले असली हिन्दुस्तानाको परिकल्पना गरेका थिए । दोस्रो कुरा, शब्दमा धर्मनिरपेक्ष भने पनि अहिलेको संविधानले सनातन धर्म सापेक्ष धर्म निरपेक्षतालाई अपनाएको छ । त्यो भनेको प्रकारान्तरले असली हिन्दुस्तानाकै निरन्तरता हो । र, त्यही असली हिन्दुस्तानाकै निरन्तरता पटक–पटक देखाइराख्न परेकाले पनि अहिले पृथ्वीनारायण शाहको दिव्य उपदेश सम्झनुपरेको छ ।

तेस्रो, नेपाली सेनाले आज पनि पृथ्वीनारायण शाहको सान्दर्भिकता किन देख्छ भन्ने प्रश्नमा नेपालको मात्रै होइन, संसारका धेरैजसो सेना धर्मको नाममा लड्छन् । साम्यवादी, समाजवादी देशका सेनाबाहेक अन्य देशका सेनालाई राज्यका लागि ज्यान अर्पण गर भन्नुभन्दा तिमीले आफ्नो कर्तव्य पालन गर र त्यसक्रममा मृत्यु भयो भने स्वर्गमा जान्छौँ भनिन्छ । अर्थात् राष्ट्रका लागि ज्यान दिनु भनेको स्वर्ग जानु हो भन्ने मान्यतालाई अंगीकार गरिएको हुन्छ ।

संसारका सबैजसो सेनामा अपवादबाहेक धार्मिकताको अंश रहेकै हुन्छ । त्यसैले असली हिन्दुस्तानको अवधारणा नेपाली सेनालाई राम्रो लाग्नु स्वाभाविक छ । त्यही कारण हो कि उसले आफ्नो चिह्नमै डमरु र त्रिशूल राखेको छ । नेपाली सेनालाई हिन्दुत्वको अवधारणाबाट छुट्याएर हेर्न मिल्दैन । अर्को पक्ष के हो भने सेनालाई लडाकाहरूको छवि प्रिय लाग्छ । जंगबहादुर राणा, भीमसेन थापा, चन्द्रशमशेर, त्रिभुवन, र महेन्द्रभन्दा उसका लागि पृथ्वीनारायण शाहकै छवि बढी लडाकु र गौरवशाली लाग्छ । यसमै अर्को महत्वपूर्ण पक्ष के हो भने आजको नेपाली सेनाको जग पनि पृथ्वीनारायण शाहले बसाएका थिए । त्यसैले पनि नेपाली सेनाका लागि उनी प्रतीक हुने भए ।

पाँचौँ र महत्वपूर्ण पक्ष के हो भने नेपाली सेना भनेको नेपालको राष्ट्रिय सेनाभन्दा पनि नेपालको सांस्कृतिक समुदायको, एउटा नृजातीय समुदायको सेना हो । स्पष्ट शब्दमा भन्ने हो भने यो खसआर्य वर्चस्व भएको सेना हो । र, खसआर्य वर्चस्वका मूलभूत दुईवटा प्रतीक छन्– पृथ्वीनारायण शाह र भानुभक्त । त्यसैले नेपाली सेनाको कार्यालयमा हिजोआज पहिलेजसरी राजाहरूका तस्बिर हुँदैन त्यहाँ पृथ्वीनारायण शाह र भानुभक्त हुन्छन् । अब कुरा गरौँ प्रज्ञाको– प्रज्ञा प्रतिष्ठानको सोच पनि नेपाली सेनाको सोचभन्दा खासै भिन्न छैन । त्यसैले त उसका लागि कवि गोपालप्रसाद रिमालभन्दा योद्धा, वीर पुरुष पृथ्वीनारायण शाहको छवि पूज्य लाग्छ ।

जब कि प्रतीक बनाउनु आफैँमा त्यति ठीक अवधारणा होइन, तर नयाँ धरातल र नयाँ समय चेतनामा उभिएर कुनै प्रतीक निर्माण गर्नुपर्‍यो भने कस्ता प्रतीक निर्माण गरिनुपथ्र्यो होला ?
यस प्रश्नको जवाफका लागि हामी ०६२/०६३ को लाली गुँरास क्रान्ति, जुन सफल हुन सकेन त्यहाँ फर्कनुपर्ने हुन्छ । त्यतिवेला एउटा शब्द निकै चर्चामा थियो– नयाँ नेपाल । नयाँ नेपाल भन्ने शब्द फेसनका लागि भनिएको थिएन । पुरानो नेपाल एकलकाँटे भयो, त्यसमा गोर्खाली साम्राज्यवादको, खसआर्य प्रभुत्वको निरन्तरता कायम भयो, संसदीय व्यवस्थामा पनि राजालाई प्रधानता दिइएको शासन व्यवस्था कायम गरियो भनेर यसको विकल्पमा नयाँ नेपाल चाहिन्छ भनेर नयाँ अवधारणासहित त्यो कुरा गरिएको थियो । नयाँ नेपालमा शोषित, उत्पीडित, बहिस्कृतका रूपमा रहेका दलित, महिला, विभिन्न जाति–जनजाति, मधेसी सबैको समानुपातिक, समतामूलक र समन्यायको सिद्धान्तमा आधारित सहभागितामूलक अपनत्व हुनेछ भनिएको थियो ।

सामान्यजनलाई केही प्रतीक चाहिन्छ, त्यसैले त्यो परिकल्पनाअनुसारको प्रतीक खोज्ने हो भने संघर्षको ठूलो इतिहास रहेको नेपालमा राज्यसत्ताविरुद्ध भएका विभिन्न विद्रोहमा भूमिका खेलेका व्यक्ति नै नयाँ प्रतीक हुन सक्थे । उदाहरणका लागि राज्यसत्ताको विरोधमा साहित्य सिर्जना गर्ने, नारी आन्दोलनमा लागेका व्यक्ति, नेपाल सुहाउँदो प्रविधिको विकास गरेका व्यक्ति नयाँ प्रतीक हुन सक्थे ।

उनी योद्धा थिए । युद्धकलाका ज्ञाता थिए । छल–कपटका उस्ताद थिए । उनलाई जति नै माथि पुर्‍याए पनि नेपाल राज्य एकीकरणको नायक र प्रतीकचाहिँ मान्न मिल्दैन ।

सबैभन्दा राम्रो त यदि हामीले जनमुखी संविधान लेख्न सकेको भए संविधानलाई लिपिबद्ध गर्नेहरू नै नयाँ प्रतीक हुन सक्थे । जसरी भारतमा संविधान लेख्नेहरू जवाहरलाल नेहरू, राजेन्द्र प्रसाद, भीवराव अम्बेडकर, सरदार पटेल, महात्मा गान्धी, मौलाना आजादलाई नयाँ प्रतीकका रूपमा निर्माण गरिएको थियो । तर, दुर्भाग्य नेपालको संविधान कलमले भन्दा पनि संगिनले लेखियो । मधेसीहरूको टाउको र छातीमा गोली हानेर लेखियो । स्पष्ट शब्दमा मसीको साटो रगतले लेखियो । त्यसैले संविधान कसले लेख्यो र त्यसलाई कसले लिपिबद्ध गर्‍यो भन्ने कसैको सम्झनामा छैन । नयाँ परिकल्पनाको हत्या भएसँगै नयाँ प्रतीकहरूको खोजी पनि हुन पाएन ।

नेपाल राज्यको एकीकरणमा लागेका भनिएका पृथ्वीनारायण शाहले जब नेपालकै एकीकरण गरे भने स्वभावतः उनको भूमिका मधेसमा पनि देखियो होला र मधेसको पनि एकीकरण गरे होलान् । इतिहासको अध्ययनबाट मधेसमा उनको भूमिका कस्तो पाउनुहुन्छ ? 
सबैभन्दा पहिले एकीकरण भन्ने शब्दकै परिभाषामा जाउँ । एकीकरण भनेको के हो भने जुन कुरा कुनैवेला एउटै थियो, पछि विखण्डित भयो र फेरि त्यसलाई एक ठाउँमा ल्याइयो भने त्यसलाई एकीकरण भन्न सकिन्छ । पृथ्वीनारायण शाहले त्यस्तो कुनै पनि काम गरेका होइनन् । उनको विजय अभियानभन्दा अघि आजको नेपालको कुनै अस्थित्व नै थिएन भने उनले त्यसको एकीकरण कसरी गरे त ? तत्कालीन नेपाल भनेको अहिलेको भाषामा जसलाई हामी काठमाडौं उपत्यका भन्छौँ त्यो थियो । त्यसैले पहिलो परिभाषाअनुसार यसलाई एकीकरण भन्न मिल्दैन ।

एकीकरणको दोस्रो परिभाषा के हो भने, परिकल्पनाअनुसारको इकाईलाई एक ठाउँमा ल्याउनु । यदि पृथ्वीनारायण शाहले परिकल्पना गरेको असली हिन्दुस्तानको एकीकरण गरेका हुन् भन्ने हो भने पनि त्यो परिभाषाअनुसारसमेत यसलाई एकीकरण भन्न मिल्दैन । किनभने उनले भनेको असली हिन्दुस्तानको ठूलो जनसंख्या र भूगोल त यसभन्दा बाहिर छुट्न गएको छ । यस परिभाषाअनुसार भारत नेपालमा मिसिनुपर्ने हो । एकीकरणको तेस्रो परिभाषा के हो भने जति क्षेत्रमा विजय प्राप्त गरिएको हो, त्यसमा सबैको स्वतन्त्र अस्थित्वलाई नामेट पारेर एकै किसिमको राज्य निर्माण गर्ने । जसरी अमेरिकामा त्यहाँका आदिवासीलाई झन्डै नामेट पारेर एकीकरण गरियो ।

यस परिभाषाका हिसाबले पनि यहाँको एकीकरण गरिएको होइन । त्यसैले नेपाललाई एकीकरण गर्ने काम बाँकी छ भन्नुपर्छ । र, त्यो एकीकरण नयाँ नेपालको परिकल्पनाअनुसार हुनुपर्छ, जसले बहुलता र बहुसंस्कृतिलाई अँगाल्छ । अब कुरा आउँछ मधेसमा उनको भूमिका कस्तो थियो ? उनको पालामा नेपाली सेनाले तलब पाउँदैनथ्यो । सेनामा रहेकाले लुटेको क्षेत्रको लुटमा भाग पाउँथे र जागिर टिकाउँथे । लुटेको क्षेत्रको लुटमा भाग पाउन स्वभावतः त्यहाँका बासिन्दाको सम्पत्ति लुट्नुपर्ने हुन्छ । त्यसैले ठूलो लुटेराहरूको समूहको नेतृत्वका रूपमा मधेसमा उनको विजय अभियान चलेको हो । भनेपछि मधेसले उनलाई कुनै पनि हिसाबले एकीकरणको नायक मान्ने त परको कुरा धर्मयुद्ध गर्ने योद्धाका रूपमा समेत लिँदैन । मधेसले उनलाई एउटा योद्धाका रूपमा सम्झना गर्न त गाह्रो हुन्छ भने एकीकरणको नायकका रूपमा स्वीकार गर्ने प्रश्नै उठ्दैन ।

तत्कालीन नेपाल राज्यलाई पृथ्वीनारायण शाहले विजय गरे पनि उनी कतिसम्म उदात्त भावका थिए भने यहाँको सांस्कृतिक धरोहरलाई अच्छुण्ण राखे तथा ‘नेपाल’ नामलाई नै उनले समग्र विजित राजनीतिक सीमाभित्र लागू गरे, तर पनि उनको विरोध गर्नुको के औचित्य ? 
तपाईंको प्रश्नका कम्तीमा तीन आयाम छन् । पहिलो, उनले गोर्खा नाम राखेको भए जुन सम्मान नेपाल नामले पाएको थियो त्यो कुनै हालतमा पनि पाउँदैनथे र अन्तर्राष्ट्रिय मान्यता पाउनसमेत गारो पथ्र्यो । तत्कालीन काठमाडौं उपत्यकाको नेपाल भन्ने नाम तिब्बत हुँदै बेजिङसम्म फैलिएको थियो, किनभने उसको त्यहाँ व्यापार चल्थ्यो । गोरखाको व्यापार चल्दैनथ्यो । नेपाल उपत्यकाले मौर्यकालदेखि नै भारतमा आफ्नो पहिचान कायम गरिसकेको थियो । गोरखाको त्यस्तो कुनै पहिचान थिएन । गोर्खाको पहिचान बढीमा गुरु गोरखनाथको आश्रम भएको गाउँका रूपमा मात्रै हुन सक्थ्यो । त्यसैले उनका ज्योतिषहरूले गोर्खा नाम राख्नुभन्दा नेपाल नाम राख्नुमा फाइदा रहेको सल्लाह दिएको हुनुपर्छ । त्यसैले नाम राख्ने सन्दर्भमा उनले नाफा–घाटाको हिसाब गरेको स्पष्ट हुन्छ ।

दोस्रो, जहाँसम्म तत्कालीन सांस्कृतिक धरोहरलाई निरन्तरता दिएको कुरा छ, त्यतिवेला गोर्खा राज्यको त्यस्तो के सांस्कृतिक धरोहर थियो जसले गर्दा उनले यहाँको सांस्कृतिक धरोहरलाई निधेष गर्थे । गोर्खालीहरू लडाका भएका हुनाले उनीहरूको खास सांस्कृतिक पहिचान, खाना, लुगाफाटो, गीत संगीत, चित्रकला, वास्तुकला, स्थापत्यकला केही पनि थिएन । राजा भइसकेपछि उनलाई त्यसको खाँचो पर्नु स्वाभाविक थियो, जुन नेपाल उपत्यकामा पहिले नै स्थापित थियो । स्वाभाविक रूपमा बाध्य भएर उनले त्यसैलाई निरन्तरता दिए ।

प्रज्ञा प्रतिष्ठानको सोच नेपाली सेनाको सोचभन्दा खासै भिन्न छैन । त्यसैले त उसका लागि कवि गोपालप्रसाद रिमालभन्दा योद्धा, वीर पुरुष पृथ्वीनारायण शाहको छविपूज्य लाग्छ ।

तेस्रो, नेपाल उपत्यकाको तत्कालीन धर्म पनि हिन्दू धर्म नै थियो । पण्डितको वर्चस्व भएको धर्म नै यहाँ स्थापित थियो । चार जात छत्तीस वर्णको जुन भाका उनले जुराए त्यसको थिति जयस्थिति मल्लले यहाँ बसालिसकेका थिए । वर्णाश्रममा आधारित जात प्रथाले उनलाई यहाँ शासन गर्न झनै सजिलो भैदियो । विशुद्ध नाफा–घाटाको मूल्यांकन गरी लिइएको निर्णयमा उनको उदारता देख्नुपर्ने कुनै कारण छैन ।

 आममानिसमा एउटा भावनात्मक प्रश्न छ– पहिलो, जसले नेपाल भन्ने देश बनाए र हामीलाई नेपाली भन्ने गौरव प्रदान गराए उनैलाई कसरी प्रश्न गर्ने ? दोस्रो, उनले जे गरे त्यो तत्कालीन समय चेतनाको परिणाम थियो र त्यसलाई आजको समयसँग दाँजेर हेर्न मिल्दैन । यदि तत्कालीन समय चेतनाकै कुरा गर्ने हो भने ब्रिटिसले भारतमा थोपरेको उपनिवेशलाई बेठिक किन भन्ने त ? 
पहिलो, समाजशास्त्रीय दृष्टिकोणमा यसलाई परिकल्पनामा गरिएको कब्जा भन्ने गरिन्छ । तपाईं शासक निर्मित धारणामा यति धेरै अभ्यस्त हुन पुग्नुहुन्छ कि तपाईं त्यस धारणाको पर्खालबाहिर अन्य कुराहरू पनि बहसमा छन् भनेर सोच्नै सक्नुहुन्न । उदाहरणका लागि नेपाली हुनुमा गौरव गर्न पायौँ भन्ने विषय कुन ठूलो कुरा भयो र ? सिमानापारि बिहारीहरू पनि भारतीय हुनुमा गौरव गर्न पाएकै छन्, तर उनीहरूको जीवनस्तर विश्वको दाँजोमा कहाँ छ भन्ने प्रश्न आउला नि ।

तिब्बतीहरू पहिले तिब्बती भएकोमा गौरव गर्थे अहिले चिनियाँ हुन पाएकोमा पनि गौरव गरिरहेका छन् । गौरव गर्ने विषय परिस्थितिमा भर पर्छ त्यसैले यसलाई स्वीकार गर्ने हो । किनभने भूगोल, कोख, जात र धर्म व्यक्तिको छनोटको विषय होइन । जब छनोट हाम्रो हातमा हुँदैन भने त्यसलाई स्वीकार गर्ने हो । र, जसले पृथ्वीनारायण शाहलाई आलोचनात्मक दृष्टिकोणबाट हेररहेका छन् उनीहरूले पनि नेपाली हुनुलाई अस्वीकार गरेका त छैनन् । उनीहरू यस विषयलाई स्वीकार गरेरै आलोचनात्मक चेतले उनको कार्यविधि र गतिविधिको मूल्यांकन गरिरहेका छन् । त्यसैले सबैभन्दा पहिले परिकल्पना कब्जाको अवस्थाबाट उम्किनुपर्छ । यदि यसलाई गोर्खाका राजाले नभएर जुम्लाका राजाले जितेको भए र जुम्ला नाम राखेको भए पनि हामी जुम्ली हुन पाएकोमा गौरव गर्छौँ भन्थ्यौँ होला ।

दोस्रो, इतिहासका कुनै पनि घटनाको समयकाल र चेतनाका आधारमा मूल्यांकन हुन्छ । त्यो व्यक्ति अथवा शासक दूरदृष्टि भएको मानिन्छ जसले आफ्नो समयभन्दा निकै परसम्म हेर्ने सामथ्र्य राख्छ । फाइदा मात्रै लिने हो भने त सामान्य मानिस र विशेष मानिसबीच के भेद भयो त ? भारतलाई अहिलेको आकारमा पु¥याउने पृथ्वीनारायण शाहका समकालीन रोबर्ट क्लाइब थिए । रोबर्ट क्लाइब नभइदिएका भए अहिलेको आकारको भारत बन्दैनथ्यो । भनेपछि के भारतले अब राष्ट्रपिता भनेर रोबर्ट क्लाइबलाई मान्ने ? त्यो त मिल्दैन । त्यसैले यो अवधारणा नै गलत छ ।

पृथ्वीनारायण शाहले आफ्नो समयमा गरेको काम क्लाईबभन्दा कुनै पनि मानेमा भिन्न थिएन । क्लाइब र शाहबीच के मात्रै फरक थियो भने क्लाइब मसनन्दमा बस्थे जब कि शाह राजगद्दीमा बस्थे । उनीहरूको शासन गर्ने तरिका उस्तै थियो । त्यसैले पनि हामी पृथ्वीनारायण शाहप्रति कृतज्ञ हुनुपर्छ भन्ने कुरा तर्कसंगत छैन । उनको ठाउँमा अरू भइदिएका भए पनि यत्तिकै आलोचनात्मक चेत संगत उनको मूल्यांकन गरिनुपथ्र्यो । जहाँसम्म काल चेतनाको कुरा छ उनी दूरदर्शी शासक होइनन् भन्ने इतिहासका पानामा दर्ज छ ।

शाहको विजय अभियानभन्दा अघि मकवानपुरको सेन राज्यअन्तर्गत पर्ने मेरो गाउँनजिक मटिहानीमा संस्कृत पाठशाला थियो । चेतनाकै आधारमा भन्ने हो भने अमेरिकामा प्रतिनिधित्वबेगर कर लगाउन पाइँदैन भनेर बहस सुरु भइसकेको थियो । बेलायतमा गौरवशाली क्रान्ति सम्पन्न भइसकेको थियो भने फ्रान्समा क्रान्तिको वातावरण तयार हुँदै थियो ।

नेपालकै कुरा गर्ने हो भने गोर्खाली राज्यकोभन्दा उपत्यकाको काल चेतना निकै अघि थियो । पाटनमा पाँच प्रधानले राजालाई सहयोग गर्थे । त्यसैले उनलाई कुनै पनि कोणबाट प्रतीक मान्न मिल्दैन । कतिसम्म भन्न मिल्छ भने उनी एउटा महान् विजेता थिए । योद्धा थिए । युद्धकलाका ज्ञाता थिए । छल–कपटका उस्ताद थिए । उनलाई जति नै माथि पु¥याए पनि नेपाल राज्य एकीकरणको नायक र प्रतीकचाहिँ मान्न मिल्दैन । त्यसो गर्न खोज्नु भनेको खसआर्यबाहेकका नेपालीको मान मर्दन गर्दै उनीहरूको खाटा पर्न लागेको घाउलाई उप्काएर नुनचुक दल्नु हो ।-नयाँ पत्रिका दैनिक

प्रतिकृया दिनुहोस्