News Portal

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै

रातोपोस्ट संवाददाता
७८९ पटक

काठमाडौं। नेपालले अमेरिकासँग १० वर्षअघि किर्तिपुरको क्रिेकट मैदानमा एक दिवसीय खेल खेलेको थियो।

नेपाली क्रिकेट इतिहासमा यो खेल चर्चाको शिखरमा रह्यो। नेपाली मैदानमा खेलिएको सो खेल अमेरिकी टोलीले खुलेर खेल्न पाएन।

१० वर्ष अघिको स्मरण गराउने गरि नेपालले आज अमेरिकासँग विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय त्रिकेट श्रृङ्खलाको दोस्रो खेल खेल्दैछ। तर, क्रिकेट प्रेमी नेपाली अमेरिकासँगको खेलले दशक पुरानो इतिहासलाई नयाँ मोड देओस् भन्ने चाहन्छन्।

उक्त खेलमा दर्शकको अवरोधका कारण नेपालले अपमानित हार व्यहोरेको थियो। त्यो भन्दैमा अमेरिकाले सम्मानित जित निकाल्यो भन्न पनि मिल्दैन।

२६ फेब्रुअरी २०१० मा खेलिएको सो खेलमा नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा १६२ रन बनाएपछि अमेरिकाले १६३ रनको लक्ष्य पाएको थियो।

जवाफी ब्याटिङमा मैदान उत्रिएको अमेरिकाले ३० ओभर खेलेपछि नेपाली दर्शकले ढुंगासहित खाली बोतल प्रहार गर्न थाले। अमेरिकाले जित्नै लागेको खेल रोक्नु पर्ने अवस्था सिर्जना भयो।

रोकिएको समय कटौती गरेर डिएल प्रणालीबाट ओभर घटाइएको खेलमा अमेरिकाले ३३.३ ओभर खेल्दै ७५ बल बाँकी नै रहँदा लक्ष्य भेट्टायो डिभिजन पाँचको त्यो खेलपछि नेपाल र अमेरिकाबीचको टियु क्रिकेट मैदानमा आज हुने दोस्रो खेल हो।

नेपालको लागि त्रिपक्षीय श्रृङ्खलाको पनि दोस्रो खेल हो। पहिलो खेलमा नेपालले ओमानसँग १८ रनको हार व्यहोरिसकेको छ।

विभिन्न वाधा र अवरोध सहँदै आएको नेपाली क्रिकेट र नेपाल क्रिकेट संघ(क्यान) पनि पुरानो त्यही तुष मेटाएर नयाँ इतिहास बनाउन चाहन्छ।

क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘क्रिकेट एसोसिएसनको लागि सस्पेन्सनपछिको एउटा ठूलो टेस्टको रुपमा यो त्रिपक्षीय सिरिजलाई लिएका छौं। ठूलो च्यालेन्जका साथै मौका पनि हो। क्रिकेट संघले पनि केही गर्न सक्छ र गरेर देखाउँछ भन्ने एक अवसर पनि हो।’

क्यानका सचिवले भन्न खोजको ‘च्यालेन्ज’ पनि भोलीको खेलमा सुरक्षाबारे नै हो। क्यानले प्रमाणीत गर्नुपर्ने कुरा पनि नेपालले एक दिवसीय खेललाई आयोजना गर्न सक्नु मात्र होइन। यसलाई सफल बनाउन सक्नु पनि हो।

दशक अघिको अमेरिकासँगको खेलबाट नेपाललाई पुगेको घाटा पुर्ती गर्न आजकोे खेल सेतू सावित हुनेमा क्यानका पदाधिकारी ढुक्क छन्। नेपाली दर्शकको व्यवहार १० वर्षमा कत्तिको सुधारिएको छ आजको खेलबाट क्यान विश्वलाई देखाउन चाहन्छ।

त्यसैले नेपाल र अमेरिकाबीचको खेल मैदानमा मात्र सीमित छैन। यो नेपाली दर्शक, नेपाली क्रिकेट, क्यान सबैको खेल हो। यही भावलाई प्रष्ट्याउँदै सचिव प्याकुरेल भन्छन, ‘विदेशी टिमलाई नेपाल प्रवेश गरेबाटै बाहिर फर्किएर नगएसम्म सुरक्षा व्यवस्था राम्रो बनाइएको छ।

नेपालको खेल भएको दिनमा सात–आठ सयको संख्यामा प्रहरी खटिने छन्। आवश्यक परेमा सशस्त्र प्रहरी पनि खटिन सक्छन्।’

अन द फिल्ड, क्रिकेट खेलाडीको खेल हुनेछ भने अफ द फिल्डमा क्यान सुरक्षा चुनौतिसँग लडिरहेको हुने छ।

आजको खेलका लागि नेपाली टोली तयार रहेको कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्। ‘हामी दबाब नलिइकन खेल्ने तयारीमा छौं। यसर्थमा हामी उत्साहित नै छौं।

हाम्रो लागि यो चुनौतिको सामना गर्ने अवसर भएकाले घरेलु मैदानमा अमेरिकासँग खेल्न उत्साहित छौं।’, मल्लले भने।

त्यस्तै, उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि अमेरिकालाई ट्याकल गर्नेमा नेपालले लामो समयबाट ट्रेनिङ गरिरहेको बताउँछन्।

नेपाली टोलीका पूर्वकप्तान पारस खड्का अपोनेन्ट राम्रो रहे तापनि घरेलु मैदानमा क्रिकेटको फाइदा उठाउन सकिने बताउँछन्। भन्छन, ‘अमेरिका राम्रो टोली हो। बलिङ र ब्याटिङ ब्यालेन्स नै छ। जितको सवालमा चाहीँ ओभियस्ली! हाम्रो उद्देश्य जित नै हो।’

त्यस्तै, नेपाल आउनुअघि १० दिन मुम्बईमा ट्रेनिङ गरेको अमेरिकी टोलीले एक दिवसिय क्रिकेटमा आफूलाई लिगमा रहेका सात देशमध्ये अब्बल सावित गरिसकेको छ।

९ खेलमा ६ जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको १२ अंक छ। तर, अमेरिकाको टोलीमा नेपाली होम ग्राउन्ड भएकाले केही दबाब हुने छ।

अमेरिकाका कप्तान सौरभ नेत्रावलकर भन्छन, ‘नेपाली मैदानमा नेपालकै विरुद्धमा खेल्नु पक्कैपनि दबाब हुने छ। तर, हामीले मुम्बईमा राम्रो तयारी गरेका छौं। हामीले त्यहाँ १० दिन ट्रेनिङ गर्यौ। हामी आफ्नो सतप्रतिशत दिने कोसिस गर्ने छौं।’

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर, ललित राजबंशी वैकल्पिक खेलाडी : पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा, किशाेर महतो

अमेरिकी टिम :

शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन

प्रतिकृया दिनुहोस्