News Portal

मेचीनगरमा जनप्रतिनिधिले भुले मर्यादा, पाहुना स्वागतकाे नाममा लम्पसार परे

मुक्ति पौडेल
५६० पटक

झापा । ‘अतिथि देवो भव’ नेपालमा प्रचलित र स्थापित मान्यता हो यो । पाहुनाको स्वागत सत्कार राम्रैसँग गर्ने नेपाली चलन पनि छ । तर, यसपटक मेचीनगर भने यो मामिलामा उदार मात्रै देखिएन, यहाँका जनप्रतिनिधिले आफ्नो मर्यादा भुलेर पाहुनाको स्वागतमा लम्पसार परेका छन ।

प्रसङ्ग हो, बेलायतको फक्सटन नगरकी मेयर जेकी मेडको स्वागत । सामान्यतयाः कुनै पनि देशका सरकारी निकाय हुन् वा गैर सरकारी संस्थाका पाहुना आउँदा उनीहरुलाई मर्यादाक्रम अनुसारको शिष्टता र सम्मान दिनुपर्छ । तर, फक्सटनका मेयरलाई गरिएको स्वागतको शैली हाम्रा जनप्रतिनिधिहरुले भद्दा चाकडी गरेजस्तो मात्रै थियो ।

स्थानीय तहका जनप्रतिनिधिले उही तहकी मेयरलाई स्वागत गर्नु सामान्य थियो । तर, संघीय सांसद राम कार्की लगायतका उपल्लो तहका जनप्रतिनिधिहरु नै लाम लागेर बेलायती मेयरको पछि लाग्ने दृश्य बिल्कुल बिझाइलो रह्यो ।

विभिन्न तहका जनप्रतिनिधिले भरिएको सो स्वागत कार्यक्रममा नेपालका जनप्रतिनिधिले मर्यादा भुलेको मान्नेहरु धेरै छन् । सामान्यतयाः एउटा देशको नगरप्रमुख नेपालका कुनै नगरपालिका आउँदा हाम्रो आफ्नो मर्यादाक्रम अनुसारको स्वागत र सम्मान हुनुपर्छ । तर, हाम्रा जनप्रतिनिधिले लाम लागेर बेलायती मेयरको ‘दर्शन गर्न’ देखाएको होडले मर्यादा मात्रै मिचिएन, उनीहरुको कमजोर आत्मविश्वास र हीनताग्रस्त मानसिकता पनि छताछुल्ल भएको छ ।

दुई देशका सहरबीच मितेरी सम्बन्ध गाँसिनु न नौलो कुरा थियो न कुनै महत्वपूर्ण उपलब्धि । यो शिष्टाचारको सामान्य कर्म मात्रै थियो । तर, मेचीनगर र फक्सटन टाउनका बीच आगामी दिनमा हुने सहकार्यको पत्रमा हस्ताक्षर हुने कार्यक्रमलाई ऐतिहासिक र कायापलटको विषय झैं ठान्ने हाम्रा जनप्रतिनिधिहरुको ज्ञानको स्तर पनि कमजोर देखियो यो मामिलामा  । सामान्यतया विदेशबाट आउने प्रतिनिधिमूलक संघ संस्थाका प्रतिनिधिबीच औपचारिकताका लागि समेत यस्ता कार्यक्रम कैयन भएका छन् । गएको सोमबार मेचीनगरमा फक्सटन टाउनका प्रतिनिधिहरु आउँदा जे देखियो त्यो अस्वाभाविक थियो ।

निश्चय नै दुई देशका नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध गाँसिनु राम्रो हो तर फक्सटनका मेयरको स्वागतका लागि भएको तामझाम नगरबासीले रुचाएनन् । समान मर्यादाका प्रतिनिधिलाई भेट्न सकेसम्म त्यही स्तरका र नभए अन्यलाई भेट दिने विश्वव्यापी प्रचलन रहेको पाइन्छ । तर, एउटा काउन्सिलका सदस्यबाट निर्वाचित बनेका मेयरलाई स्वागत गर्न र सामान्य एउटा पत्रमा हस्ताक्षरको कार्यक्रममा कायपटल नै भए जस्तो गरेर हाम्रा जनप्रतिनिधिहरुले लाम भेट्न जानु पदीय हैसियतको दुरुपयोग र त्यसको मर्यादा भुल्नु हो ।

अहिले पनि विदेशमा रहेका हाम्रा कैयन राजदूतहरुले त्यो देशका उपल्लो तहका व्यक्तिहरुलाई चाहेर पनि भेटन सक्दैनन् । आफ्नो कार्य अवधि सकिएर फिर्ता हुन्जेल त्यो देशका निर्णायक तहका नेता भेट्नै पनि मुश्किल हुने धेरैको अनुभव छ । तर, काठमाडौंमा भने कुनै विदेश सचिव वा राजदुत भेट्न पनि नेताहरु लाम लाग्ने सुनिएको हो । मेचीनगरमा काठमाडौंकै दृश्य दोहोरियो ।

जनप्रतिनिधिहरुले आफ्नो पदिय हैसियत र मर्यादाक्रमको हेक्का नराखी बेलायत भन्नासाथ आफुभन्दा धेरै कनिष्ट तहका प्रतिनिधिहरुलाई जुन ढंगको महत्व दिए, यसबाट स्वयम् बेलायती मेयर पनि अचम्मित बनेको हुनुपर्छ । किनभने, उनीहरु मर्यादाक्रम ‘मेन्टेन’ गर्ने मामिलामा सजग हुन्छन् । तर, यहाँ नगरका जनप्रतिनिधिले सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा संविधानसभाका सदस्य, प्रदेश सभा सदस्य र संघीय सांसद लाम लागेर गए ।

बेलायतको शासनप्रणाली अन्तरगत त्यहाँका मेयर यहाँको मेयरको जस्तो प्रत्यक्ष निर्वाचित नभएर काउन्सिलका प्रतिनिधीबीच छानिने गर्छन् । कार्यकारी भए पनि सेरेमोनियल भए पनि समान तहका प्रतिनिधिहरुबीच भेटघाट, छलफल स्वाभाविक मानिन्छ । तर, सांसदहरु नै लाइन लाग्ने, आफै भेट्न जाने, अझ नगरको लागि सहयोगको याचना गर्ने शैलीले कमजोर आत्मविश्वास झल्कायो । यस्ता कमजोरीबाट हाम्रा जनप्रतिनिधिहरु मुक्त हुँदै जानुपर्छ ।

प्रतिकृया दिनुहोस्