News Portal

  • मुस्कुराउँदै अदालतमा महरा : मेरा लागि डिल्ली बजार कारागार नै घर भइसक्यो

    रातोपोस्ट संवाददाता
    ३६६ पटक

    काठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आइतवार जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको थियो ।

    दुवै पक्षका वकिलहरूको बहस सकिएपछि पर्खाइ फैसलाको थियो । महरा पनि फैसला कुर्दै इजलाशबाहिर केही कानून व्यवसायी र पत्रकारहरूसँग अनौपचारिक कुराकानीमा व्यस्त थिए । ‘अब त छुट्ने बेला भयो होला नि !’ एक जनाले प्रसंग निकाले ।

    हँसिलो मुद्रामा महराले जवाफ फर्काए– ‘नछुटे पनि के भयो र ? डिल्लीबजार कारागार ३ महिने घर भइसक्यो । आज ३ महिना १७ दिन भयो ।’

    कालो ज्याकेट र ढाका टोपीमा उपस्थित भएका महराले अदालत परिसरमा खुलेर कुराकानी गरेका थिए ।

    आइतवार महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, डा. भीमार्जुन आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा र डा‍. दीनमणि पोखरेलले बहस गरे ।

    न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा सुनुवाइ भएको महराको मुद्दामा बहस सकिएपनि आइतवार फैसला सुनाउन नभ्याउने भनेपछि महरालाई डिल्लीबजार कारागार फर्काइएको छ ।

    संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

    बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

    महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो ।

    मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।

    महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्