News Portal

सहकारी संस्थाले उठाउछ विद्युत महशुल, विद्युत महशुल महँगो हुँदा उपभोक्ता मारमा

रातोपोस्ट संवाददाता
१९२६ पटक

बाह्रदशी। झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ मा विद्युत उपभोग गर्दै आएका उपभोक्ताहरुले विद्युत महशुल महँगो हुँदा मारमा परेको गुनासो गरेका छन् ।

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको गोलधाप सेवा केन्द्रले संकलन गर्दै आएको विद्युत महशुल चर्को हुँदा आफूहरु मारमा परेको उपभोक्ताहरुले गुनासो गरेका हुन् ।

सो गाउँपालिका वडा नम्बर १ भागुडुब्बाका रामभरत शर्माले गत माघमा ११ युनिट बिजुली खपत हुँदा कूल १ सय २५ रुपैयाँको बिल आएको बताए । उनका अनुसार विद्युत उपभोग गरेदेखि नै ग्राहकहरुले अत्यधिक महशुल तिर्दै आएका छन् ।

उक्त सहकारीले करिब ३ सय उपभोक्ताबाट विद्युत महशुलका अतिरिक्त मिटर बक्सको बीमा शुल्क बापत प्रत्येक महिना २५ रुपैयाँ संकलन गर्ने गरेको उपभोक्ता बताउँछन् ।

‘बिजुली बाल्न थालेको डेढ वर्ष भयो, बिजुली चलाएदेखि नै बढी पैसा तिरे जस्तो लाग्छ’ शर्मा भन्छन्–‘तर, के गर्नु हाम्रो कुरा बिक्दैन ।’

अहिलेसम्म मिटर बक्स नबिग्रिएको बताउँदै उनले भने–‘जति बिल आउँछ, थपक्क गयो, तिरो, आयो ।’
नेपाल विद्युत प्राधिकरणले न्यूनतम २० युनिटसम्मको ८० रुपैयाँ शुल्क निर्धारण गरे पनि अधिकाँश उपभोक्ताहरुले उक्त युनिटसम्म बिजुली चलाउँदा मासिक १ सय रुपैयाँ बढी शुल्क तिर्नु परेको सुनाउँछन् ।

‘कतिपय ग्राहकलाई त न्यूनतम महशुल नै थाहा छैन, धेरैजसो बिलमा युनिट पनि लेखिएको छैन, जति बिल आउँछ त्यति नै पैसा बुझाउँदै आएका छौं’–शर्माले भने ।

गत फागुन १४ गते उक्त सेवा केन्द्रले काटेको गत माघ महिनाको बिलमा १६९ रुपैयाँ महशुल उल्लेख भएको विनोद मण्डलले बताए । मण्डलका अनुसार सो महिनामा २३ युनिट विद्युत खपत गरे बापत १४४ र मिटर बक्स बीमा बापत २५ रुपैयाँको बिल आएको छ ।

त्यस्तै, अर्का उपभोक्ता चन्द्रबहादुर तामाङले पछिल्लोपटक ४१२ रुपैयाँको बिल आएको बताए । ‘बिजुली थिएन, बल्ल बल्ल बाल्न पाइयो, त्यसमा हामी खुशी छौं, कति तिर्छु मलाई नै थाहा हुँदैन’ उनले भने–‘मेरो ग्राहक संख्या नम्बर १३० हो, प्रायः युनिट लेखेको हुँदैन ।’

यता, बाह्रदशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शम्भू राजवंशीले विद्युत महशुल स्थानीय निकायले संकलन नगर्ने भएको स्पष्ट पार्दै संकलन गर्ने संस्थासँग सो विषयमा आवश्यक छलफल गर्ने बताए ।

‘महशुल बढेको बारे म जानकार नै छु, तर, के कति कारणले बढेको हो त्यो बारे सम्बन्धित संस्थासँग बुझ्छु’ उनले भने–‘वन र विद्युत वडा कार्यालयको मातहातमा पर्दैन, सो विषयको सत्य तथ्य बुझेर महशुल निर्धारणमा सहजिकरण गर्छु ।’

विद्युत जडान महँगो भएका कारण उपभोक्तालाई महशुल बढाउनुपरेको स्वीकार्दै उक्त सेवा केन्द्रका प्रमुख पदमबहादुर थापाले त्यसबारे उपभोक्तासँग बुझ्ने र बढी मूल्य लिएको भए फिर्ता गर्ने प्रतिबद्धता जनाए ।

 

प्रतिकृया दिनुहोस्