News Portal

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको प्रतिपक्षी दलहरुको ठहर

रातोपोस्ट संवाददाता
५९४ पटक

काठमाडौं। संसदमा रहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका ३ दलले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको ठहर गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक सरकारको सर्वसत्तावादी प्रवृत्तिको घोर भत्सर्ना गर्दै यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

वैठकले सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण गर्ने आपराधिक कार्यको भत्सर्ना गर्दै अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गरेको वैठक पछि जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव र शरतसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका थिए।

कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना सरकारले दिन नसकेकोमा चिन्ता व्यक्त गर्दै तीन दलले तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ।

कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन तथा टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठकले माग गरेको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र राष्ट्रिय सभामा कांग्रेस नेता राधेश्याम अधिकारी थिए।

वैठकमा जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर, डा. वावुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए।

प्रतिकृया दिनुहोस्