News Portal

त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने

रातोपोस्ट संवाददाता
११० पटक

अब

६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ । स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए । विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको उनले बताए ।

उनले भने, ‘अघिल्लो तीन वर्षको परीक्षा उत्तीर्ण गरिसकेको विद्यार्थीले चौथो वर्षमा एक वा दुई विषय छिचोल्न नसक्दा एक वर्ष पर्खिन नपरोस्, विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भनेर यस्तो निर्णय गरिएको हो ।’ आगामी वर्षदेखि लागू हुने गरी प्राज्ञिक परिषद्ले निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार त्रिविले त्यस्ता विद्यार्थीका लागि चौथो वर्षको नतिजा आएको एक महिनाभित्र मौका अथवा पूरक परीक्षा सञ्चालन गर्नेछ ।

अहिलेसम्म सेमेष्टर प्रणालीमा मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था रहेको छ । स्नातक तहमा मात्रै भएको वार्षिक कार्यक्रमको अन्तिम वर्षमा एक वा दुई मात्रै विषयमा अनुतीर्ण हुँदा विद्यार्थी मर्कामा परिरहेकाले उनीहरुको सहजताको लागि निर्णय गरेको रजिष्ट्रार रिजालको भनाइ छ । ‘चौथो वर्षको एक वा दुई विषयले अड्केर विद्यार्थी पढ्न नपाएर मर्कामा परेका थिए त्यसैले उनीहरुको सहजताको लागि केही प्रयास गरौं भनेर यो निर्णय गरेका छौं ।’ उनले भने ।

प्रतिकृया दिनुहोस्