News Portal

  • अन्तराष्ट्रिय श्रमिक दिवस र नेपाली मजदुर

    विनोद थापा
    २५६ पटक

    १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मे १ संसारभरिका मजदुरहरूले मनाउँदैछन् । यो ऐतिहासिक दिनको महत्व विशिष्ट रहेको छ । सन् १८८६ को मे १ का दिन ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जनको माग राखी संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा मजदुरहरूले उठान गरेको आन्दोलन र मजदुरमाथिको हत्या, हिंसा, दमनका बीचबाट विजय प्राप्त गरेको दिनका रूपमा संसारभरिका मजदुरले यो दिवस मनाउने गरेका छन् ।

    हाम्रो सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले पनि मे दिवसलाई आन्दोलनकै रूपमा मनाउने गरेको छ । यो वर्ष पनि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र यसका पेसागत सङ्गठनहरूले आफ्नो–आफ्नो सिर्जनशीलतामा मे दिवस मनाउँदैछौँ ।

    यति बेला विश्वभरि महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण श्रमजीवी वर्गले यसलाई पर्व वा दिवसभन्दा पनि इतिहासमा श्रमजीवी वर्गले देखाएको त्याग, तपस्या, साहस र वीरताले भरिएका स्वर्णिम पलहरूको सम्झना र आगामी चुनौतीलाई सामना गर्न प्रेरित गर्ने दिनका रूपमा मनाउँदा यो दिवसको महत्व अझ बढी सान्दर्भिक हुन सक्छ ।

    नेपालमा पनि विभिन्न मजुर सङ्गठनहरूले मे दिवस मनाउँदै आएका छन् । पुँजीवादी सत्ताका गोटी बनेका मजदुर सङ्गठनहरूले हर्षाेल्लासपूर्वक विवाहको भोजभतेरजस्तो गरी निक्कै तामझामका साथ विगतका वर्षहरूमा मनाउँदै आएका थिए । तर यो वर्ष उनीहरूको फलिफापको पर्व कोरोना कहरसँगै बागमतीको फोहोर पानीमा मिसिन पुग्यो । मालिकहरूको मौसमी भेटीले झोला भर्ने सुवर्ण अवसरका रूपमा मनाउनेहरूको दशा बिग्रेको छ ।

    एकान्तबासपछिको पूर्पुरोमा हात राखी विगतका सम्झनाबाहेक उनीहरूको सुखद दिन भने यो शताब्दीभरि आउलाजस्तो छैन किनभने पुँजीवादी सत्ता सङ्कटमा पर्ने निश्चित छ । रोग, भोक र प्यासले छट्पटाइरहेका श्रमजीवीहरू कसरी पुँजीवादी दासत्वको अन्त्य गर्न सकिन्छ भन्दै आन्दोलनको बलबाट सदाका लागि नारकीय व्यवस्थाको सिक्रीलाई तोड्न चाहिरहेका छन् ।

    तिनै वर्ग सडकको मोर्चाबाट आफ्ना दबिएका स्वरहरू सङ्घर्षमार्फत व्यक्त गरिरहेका छन् ।

    आदरणीय श्रमजीवी मजदुर साथीहरू,

    लाल संसदीय व्यवस्थाले चरम शोषण, उत्पीडन गरिरहेको यो बेला शासन सत्ताको नालायकीपन श्रमिक जनतामाथिको बर्बरता हामी सबैले भोगिरहेका छौँ । इतिहासका असफल पात्रहरूले शासनसत्ताको बागडोर समालिरहेको यो बखत भोका, नाङ्गा, निमुखाहरूले झन् ठूलो सास्ती बेहोर्नुपरेको छ ।

    अन्याय–अत्याचारका खुनी पञ्जाहरू फिँजाई भोकाएका गिद्धहरूले झैँ मजदुर वर्गको रगतपसिना लतपतिएको विश्व–पुँजीवादका रैथाने दलालहरू श्रमजीवी वर्गमाथि अमानवीय हर्कत देखाइरहेका छन् ।

    शासन सत्ताको उन्मादमा लट्ठिएका शासकहरूका विरुद्ध निर्णायक आन्दोलन नगरी जर्जर भई मक्किएको दलाल संसदीय व्यवस्था उखेल्न र बहुसङ्ख्यक श्रमिक जनता न्याय, स्वतन्त्रता र मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका निम्ति सङ्घर्षरत आम–शोसित–पीडित श्रमिक मजदुरहरूलाई मे दिवसले अद्भुत प्रेरणा र विद्रोहको भाव जागृत गरेको छ ।

    अभाव, बेरोजगारी, भोकमरी र अन्याय–अत्याचारको पर्याय बनेको विश्व–पुँजीवाद र नेपालको कथित कम्युनिस्ट पार्टीको सरकारको गैरजिम्मेवारीका कारण यतिखेर नेपालको श्रमक्षेत्र चौपट हुने अवस्था आएको छ । श्रमिक वर्गले अब केही दिनमा दोहोरो मार खेप्नुपर्ने अवस्था उत्पन्न भइरहेको छ । कोरोनाको डर–त्राससँगै श्रमिकहरूको रोजगारी खोसिने सम्भावना बढेको छ ।

    वैदेशिक श्रम बजारमा पसिना बेच्ने युवाहरू बिचल्लीमा परेका छन् र वार्षिक ९ अर्बको रेमिट्यान्स भित्र्याउने श्रमिकहरू आफ्नो देश फर्कन पाइरहेका छैनन् । नेपालमा भने दैनिक गुजारा चलाउन अभाव भएपछि सडकमा रोदन, क्रन्दन र टिठलाग्दा आवाजहरू सुनिन थालेका छन् । श्रम ऐन र कानुनहरू किताबका ठेलीमा सीमित छन् ।

    एकपक्षीय ढङ्गबाट घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम श्रमिकका पक्षमा छैन । एनजीओ र आईएनजीओसँग साँठगाँठ गरिरहेका सङ्घसङ्गठनहरू श्रमिकका बीचमा मूकदर्शक बनिरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि भ्रष्टाचार, कालोबजारी र कमिसनको खेलो चलिरहेको छ । यी सबै विकृतिको मूल कारण असफल संसदीय व्यवस्था नै हो । त्यसैले यो व्यवस्थालाई फाल्नका लागि क्रान्तिकारी आन्दोलनको आवश्यकता रहेको छ ।

    आफ्नो ऊर्जाशील जीवन मजदुर आन्दोलनमा समर्पण गर्नुहुने समस्त मजदुर तथा श्रमजीवी साथीहरूमा मजदुर आन्दोलनको सार्थक इतिहासलाई मनन गर्न आग्रह गर्दै क्रान्तिकारी विचार, दृष्टिकोणबाट अलग नभई अपेक्षाकृत तरिकाले श्रमिक वर्गको सेवा गर्न वर्गीय नेतृत्व प्रदान गर्न हमी सफल हुन आवश्यक छ ।
    हामीसँग दृढ इच्छाशक्ति भएमा हाम्रासामु आएका सम्पूर्ण चुनौतीहरूको सामना गर्न सकिन्छ जसरी सन् १८७१ मा पेरिसका मजदुरहरूले सत्ता कब्जा गरी आफ्नो वर्गको सत्ता स्थापना गरेका थिए ।

    तर त्यो सत्ता ७२ दिन मात्र आफ्नो हातमा लिएर चलाउन सफल भए पनि उक्त ऐतिहासिक पहलकदमीले संसारका श्रमिक मजदुरहरूलाई उत्साहित बनाउन अझ बढी मद्दत गरेको छ । मजदुर दिवसका अवसरमा संसारभरका र नेपालका मजदुरहरूले हरेक न्यायपूर्ण सङ्घर्षमा देखाएको बलिदानी भावको उच्च मूल्याङ्कन र कदर गर्नु पर्दछ ।

    हामी सबै यतिखेर इतिहासको कठिन बाटोमा यात्रारत छौँ । आदर्श, मूल्य र मान्यताबाट विचलित नभई महान् लक्ष्यमा समर्पित हुन १३१ औँ मे दिवसले थप हौसला प्रदान गर्नेछ ।

    आन्दोलन पढेर होइन, गरेर विजय हासिल गर्न सकिन्छ भन्ने मर्मलाई आत्मसाथ गरौँ । सम्पूर्ण श्रमिक, मजदुरहरूलाई यो दिवसका अवसरमा हार्दिक शुभकामना !

    प्रतिकृया दिनुहोस्