News Portal

विकास निर्माणको जिम्मा सेनालाई दिएर सीमामा प्रहरी परिचालन गर्ने गृहमन्त्रीको निर्णय

रातोपोस्ट संवाददाता
७३२ पटक

काठमाडौं । गृहमन्त्रालयले कारागार, विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने निर्णय गरेको छ ।

आज गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा गृहमन्त्रालयमा बसेको बैठकमा सो सम्बन्धि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । निर्वाचनको समयमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा परिचालन गरिने विगतको नजिर अनुरुप अहिले कोरोनाले निम्ताएको महामारी नियन्त्रण गर्न सीमामा थप कडाइ गर्ने उद्देश्यले सो निर्णय गरिएको हो ।

बैठकले सीमाबाट लुकिछिपि प्रवेश गर्नेक्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निश्कर्ष निकालेको छ । बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तिव्रता दिने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री बादलले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिकाहुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

उनले सिमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरि सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए ।

सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृहमन्त्रालय प्रक्रिया अघि बढाएको बैठकमा जानकारी दिए ।

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथि प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्