News Portal

लागुऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमा परामर्श

रातोपोस्ट संवाददाता
७३८ पटक

झापा । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् ।

कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् ।

केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त समाज निर्माणका लागि चेतना प्रवाह गराउँदै आएका अन्य युवा अहिले उक्त क्वारेन्टाइनमा प्रशिक्षणमा ब्यस्त छन् ।

रोकथाम र नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले सो विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा रहेका युवाहरुलाई उनीहरुले प्रशिक्षित गराउँदै आएका छन् ।

त्यहाँ नव यात्रा पुर्नस्थापना केन्द्रका अध्यक्ष भीम लुईँटेल क्षेत्री, स्वतन्त्र प्रतिष्ठानका अध्यक्ष सन्दीप थापा र सनराइज सुधार गृहका प्रतिनिधि प्रवेश शर्माले बिहानदेखि बेलुकासम्म दैनिक कार्यतालिका बनाएर सहजिकरण गर्दै आएका हुन् ।

नगरले प्रहरीसँगको समन्वयमा नगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेका लागुऔषध प्रयोगकर्तालाई उनीहरुले प्रत्येक दिन बिहान ६ः३० देखि बेलुका ८ः३० बजेसम्म लागुऔषधको सेवनले निम्त्याएको क्षति, मुक्त हुने उपायलगायत विविध विषय समेटिएको कक्षा सञ्चालन गर्दै आएका छन् ।

बन्दाबन्दीको अवधिमा नशालु पदार्थ सेवनका लागि विभिन्न बहाना बनाएर सीमा नाका पार गरी भारत छिर्न लागेका मेचीनगरसहित अन्य स्थानका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएका युवाहरुलाई आवश्यक परामर्श प्रदान गर्न नगरले त्यस विषयसँग सम्बन्धित जानकारहरुलाई आग्रह गरेपछि स्वयंसेवकका रुपमा नियमित प्रशिक्षण दिईंदै आइएको अर्का प्रशिक्षक क्षेत्री बताउँछन् ।

‘लागुऔषध सेवनकर्ता दैनिक खुराकका लागि प्रहरीको आँखा छलेर विभिन्न गौंडाबाट सीमा आउजाउ गर्ने र गर्न खोजेको पाइयोे’ तरुण दलका क्षेत्रीय सभापति समेत रहेका राई भन्छन्–‘उनीहरुबाट कोरोनाको संक्रमण फैलिने सम्भावना बढेपछि क्वारेन्टाइनमा राख्नुपरेको हो ।’

‘उनीहरुलाई क्वारेन्टाइनमा राख्नुको विकल्प थिएन’ उनी थप्छन्–‘उनीहरुले संक्रमण ल्याए नगरमात्रै नभई सिंगो देशनै तहसनहस हुन्छ, त्यसैले जोखिम बढ्न नदिन सामाजिक दूरी कायम गरेर प्रशिक्षण दिन थालेका हौं ।’

उनका अनुसार सो क्वारेन्टाइनमा राखिएका ६६ जना युवामध्ये स्वास्थ्य परीक्षणपछि बिहीबार ९आज०सम्ममा ३३ जनालाई डिस्चार्ज दिई घर पठाइएको छ ।
त्यहाँ रहेकामध्ये एकजनामा ३ दिनअघि उच्च ज्वरो आएपछि मेची अञ्चल अस्पतालमा स्वाब परीक्षण गरिएको र बुधबार९हिजो० नगरको स्वास्थ्य शाखाले ३२ जनामा गरेको आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

उक्त क्वारेन्टाइनमा हाल रहेका ३३ जना युवालाई नियमित परामर्श सेवासँगै स्वास्थ्य जाँच भइरहेकाले प्रक्रिया पूरा भएपछि उनीहरुलाई घर पठाइने बताइएको छ ।

‘सरकारले अब नीतिगत रुपमै वार्षिक बजेट छुट्याएर शैक्षिक प्रतिष्ठानमा लागुऔषध सम्बन्धि सचेतना कक्षा लागू गर्नुको विकल्प देखिँदैन’ राई भन्छन्–‘विद्यालयस्तरबाटै सचेतना कक्षा सञ्चालन नगर्ने हो भने यसले विकराल रुप लिन सक्छ ।’

प्रतिकृया दिनुहोस्