News Portal

भारतले लिपुलेक हुँदै जाने सडक उद्घाटन गरेकोबारे सरकारको धारणा चाहन्छौं : कांग्रेस प्रवक्ता

रातोपोस्ट संवाददाता
४७४ पटक

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतले मानसरोवर जोड्न नेपाली भूमि हुँदै जाने सडक उद्घाटन गरेकोबारे सरकारको धारणा चाहेको बताएका छन्। भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेपछि ट्विट गर्दै शर्माले यस्तो बताएका हुन्।

‘लिपुलेक नेपालको भूमि हो, हामी प्रष्ट छौं,’ शर्माले ट्विटरमा लेखेका छन्, ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं।’ कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्। ‘नेपाली भूभागहरुबारे उच्चस्तरीय कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न सरकारको दायित्व पुनः स्मरण गराउंदछौं,’ उनले भनेका छन्।

यसअघि राजनीतिक नक्सामा नेपाली भूमि पारेको भारतले एकक्षीय रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार उद्घाटन गरेको हो। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकमार्गको उद्घाटन गरेका हुन्। त्यस्तै पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको पनि उनले उद्घाटन गरे। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्।

भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी (लिपुलेक र लिम्पयाधुरा समेत) पारेपछि विवाद उत्पन्न भएको थियो। त्यसको कूटनीतिक माध्यममार्फत समाधान खोजी नसकिएको अवस्थामा भारतले फेरि उक्त क्षेत्र छुने गरी बनाइएको बाटो उद्घाटन गरेको हो।

प्रतिकृया दिनुहोस्