News Portal

गाउँपालिका अध्यक्ष भूजेलको गुनासो–‘अलपत्र गाउँवासी ल्याउन संघीय सरकारले दिएन ।’

रातोपोस्ट संवाददाता
९७१ पटक

झापा । सरकारले घोषणा गरेको लकडाउनका कारण अध्ययन तथा रोजगारीका लागि काठमाण्डौं पुगेका अधिकाँशको जनजीवन कष्टकर बन्दै गएको छ ।
कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेपछि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको हो । लकडाउन गरेको लामोसमय बितिसक्दा समेत सरकारले लकडाउनको वैकल्पिक उपाय पहिल्याउन नसक्ता जनजीवन प्रभावित हुन थालेको हो ।

स्थानीय तहले विभिन्न मापदण्ड बनाएर राहत वितरण जारी राखेपनि अधिकाँश लक्षित वर्गले अझै पनि राहत नपाएको गुनासो गर्दै आएका छन् । तर, लकडाउनबाट समस्यामा परेका आफ्ना नागरिक ल्याउँछु भन्दा पनि संघीय सरकारले ल्याउन नदिएको झापाको बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष रमेशकुमार भूजेलले रातो पोष्ट अनलाइनलाई बताए ।

उनले भने–‘बुद्धशान्ति गाँउपालिकाका करिब तीन सय नागरिक काठमाण्डौंमा हुनुहुन्छ । सबै सुरक्षा व्यवस्था अपनाएर क्वारेन्टीनमा राख्ने गरी ल्याउँछु भन्दा पनि संघीय सरकारले ल्याउने अनुमति दिएन ।’ उनले झापामा सातवटा बस तयारी अवस्थामा राखेको र काठमाण्डौं जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय, गृहमन्त्रालयमा समेत पत्र पठाएको लामोसमय भइसक्दा समेत संघीय सरकारले आफ्ना नागरिक ल्याउन नदिएको गुनासो गरे ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्ने विषयमा संघीय सरकार जति सचेत छ, त्योभन्दा धेरै बुद्धशान्ति गाउँपालिका सचेत भएको अध्यक्ष भूजेल बताउँछन् । काठमाण्डौंमा रहेका बुद्धशान्तिका नागरिक ल्याउन नपाउँदा आफूलाई चिन्ता लागेको उनले बताए । ‘छोराछोरी काठमाण्डौंमा छन्, यहाँ अभिभावक आएर केही गरिदिनुप¥र्यो भन्नुहुन्छ, संघीय सरकार हाम्रो कुरै सुन्न मान्दैन’ उनले प्रश्न गर्छन्–‘आफ्ना नागरिक ल्याएर व्यवस्थित तरिकाले राख्छु भन्दा त दिनुप¥र्यो नी ?’

काठमाण्डौंमा अहिले रोजगारी नहुँदा आर्थिक समस्या सुरु भएको र घरधनीले समेत घरबाट निकाल्न थालेकाले आफ्ना नागरिक ल्याउन समेत नपाइएकोप्रति अध्यक्ष भूजेलले चिन्ता प्रकट गरे ।

उनले बुद्धशान्तिका कोही पनि समस्यामा परे तत्काल समस्या समाधान गर्न आफू तयार रहेको बताए । बुद्धशान्ति गाउँपालिकामा तरकारी खेती धेरै हुने भएकाले यहाँ उत्पादन भएका कृषिजन्य वस्तुलाई धरानसम्म विक्रीका लागि जिल्ला प्रशासनबाट सहजता मिलाएको उनले जानकारी दिए ।

राहत वितरणमा केन्द्रीत हुँदा किसानका तरकारी नबिकेको थाहा पाएपछि आफैंले गाउँ–गाउँ लगेर बेच्नका लागि किसानलाई यातायातको ब्यवस्था गरेर सहजिकरण गरेको अध्यक्ष भूजेलले भनाई छ ।

प्रतिकृया दिनुहोस्