News Portal

दासढुंगा

निभा शाह
९६० पटक

कविताः दासढुंगा

मिच्नु पाप हो
पापका विरुद्ध नबोल्नु
अर्को पाप हो ।

मिच्नु अत्याचार हो
अत्याचारका विरुद्ध नबोल्नु
अर्को अत्याचार हो ।

मिच्नु बलत्कार हो
बलत्कारका विरुद्ध नबोल्नु
अर्को बलत्कार हो ।

मिच्नु देश होस् कि देह
मिच्नु बलत्कार हो
मिच्नु देश होस् कि खेत
मिच्नु बलत्कार हो ।

बलत्कारको न राष्ट्रियता हुन्छ
न अन्तर्राष्ट्रियता हुन्छ
बलत्कार मात्र जघन्य अपराध हुन्छ ।

मिच्नु देशको सिमारेखा होस्
मिच्नु मान्छेको अस्मिता होस्
मिच्नु मान्छेको सार्वभौमसत्ता होस्
मिच्नु बलत्कार हो ।

मिच्नु विस्तारवाद हो
पाप हो
मिच्नु साम्राज्यवाद हो
पाप हो
बलत्कार हो ।

मिच्नु गास, बास, कपास होस्
मिच्नु शिक्षा, स्वास्थ्य, रोजगार होस्
मिच्नु अत्याचार हो ।

मिच्नु पाप हो
पापका विरुद्ध नबोल्नु
अर्को पाप हो ।

तिमि को हौ ?
जो तिमि मिचाहाका विरुद्ध मौन छौ
तिमि मिचाहाका विरुद्ध मौन छौ ?

कि त तिमि मिचाहा हौ
कि त तिमि मिचाहाका मतियार हौ ।
कि त तिमि कायर हौ
कि त तिमि नपुंसक हौ

तिमि को हौ ?
जो तिमि मौन छौ ।

ए मौनता,
मलाई पनि थाहा छ
यहाँ महाकाली दुखे
दासढुंगा हुन्छ
यहाँ कालापानी दुखे
पैह्रोढुंगा (प्रेमसिंह) हुन्छ ।

यहाँ नागरिकता दुखे
वंशविनास हुन्छ
यहाँ वर्ग दुखे
कृष्णसेन हुन्छ ।

हो, मलाई थाहा छ
यहाँ देश र वर्ग दुखे
यहाँ फेरि अर्को कोही गंगालाल हुन्छ
यहाँ कोही अर्को भगतसिंह हुन्छ ।

मलाई थाहा छ
सत्तामा पुँजीवाद र विस्तारवादका
रक्षाकवजहरु छन् ।

कोही महाकालीका रक्षाकवज
कोही लिपुलेकका रक्षाकवज
कोही एमसीसीका रक्षाकवज
कोही दरबारकाण्डका रक्षाकवज ।

मलाई यो पनि थाहा छ
ठिक यतिखेर रक्षाकवज नांगो छ
कन्धनीका लागि बहुलाएको छ ।

कन्धनीविनाको साम्राज्यवाद
कति दिन जीवित रहन्छ ?
कन्धनीविनाको विस्तारवाद
कति दिन जीवित रहन्छ ?

प्रतिकृया दिनुहोस्