News Portal

भारतबाट मेचीनगर आएका ३ सय भन्दाबढीको कोरोना परीक्षण

रातोपोस्ट संवाददाता
९२० पटक

झापा । भारतबाट काँकरभिट्टा भित्रिएका ३सय १५ जना नेपालीहरुको आज कोरोना परीक्षण गरिएको छ ।

उनीहरु विहीवार राति पुर्बी नाका काँकरभिट्टाबाट नेपाल भित्रिएका थिए । आफ्नो गृह जिल्ला पठाउनु पूर्व उनीहरुकाे कोरोना परीक्षण गरिएको हो ।

मेचीनगरमा कोरोना जाँच्ने आरडीटीको किट अभाव भएपछि नगरपालिकाले प्रदेश सरकारसँग किट मागेको थियो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भारतबाट आएका करिव ३ सय जना भन्दाबढीको शुक्रबारै आरडीटी किटबाट कोरोना परीक्षण गरिएको बताइन् ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले मेचीनगर नगरपालिकाबाट माग भए बमोजिम ३ सय भन्दाबढीको आरडीटी किट पठाईदिएको वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए । नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकीको र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा राखिएको छ ।

काँकरभिट्टा माविका १४८, धाइजनको २२ जना र इटाभट्टाको क्वारेन्टाइनका १४५ जनाको आरडीटी टेष्ट गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए । भारतबाट आएका नेपालीहरुलाई खाना खुवाउने व्यवस्थापन होटल व्यवसायी संघ मेचीनगरले गरिरहेको संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्