News Portal

लकडाउनसँगै बढ्दो मानसिक समस्या, यी समूह बढी जोखिममा पर्न सक्ने

महालक्ष्मी आचार्य
१०१९ पटक

विश्वका २ सयभन्दा बढी मुलुक कोरोनाभाइरस (कोभिड—१९)को कारण विश्वव्यापी महामारीबाट आक्रान्त छ। विश्वभरमा ५९ लाखभन्दा बढी मानिसहरू कोरोनाबाट संक्रमित भैसकेका छन् भने ३ लाखभन्दा बढी मानिसहरूको यसबाट मृत्यु भैसकेको छ।

व्यक्ति व्यक्तिबाट द्रुतगतिमा संक्रमण फैलने कारणले विश्वभरि नै यसको त्रास बढ्दो छ। नेपालमा पनि १२ सयभन्दा बढीको संख्यामा संक्रमित भेटिइसकेका छन्। यो रोग समुदाय स्तरमा फैलिएको आशंकाले थप डर त्रास उत्पन्न भएको छ। मानव समाजमा जब जब कुनै न कुनै महामारी आउँछ, यसले सबभन्दा छिटो मानिसको मानसिक स्वास्थ्यमा असर पार्छ।

हाल विश्वभर कोभिड-१९ को महामारीको कारण संक्रमित भै मृत्यु हुनेको संख्या जसरी बढिरहेको छ, त्यसैगरी लकडाउन तथा आइसोलेसनमा बस्नुपर्दा बाँच्नेहरूको मानसिक स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेका छन्।

जसका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ। लकडाउन सुरू भएदेखि (चैत ११-वैशाख २० सम्म) नेपालमामात्र ४ सय ९२ जनाले आत्महत्या गरिसकेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।

महामारीले ल्याउन सक्ने मानसिक असर (लक्षण)

मानिस स्वभावैले सामाजिक प्राणी हो। सामाजिक क्रियाकलापमा नै मानिसको शारीरिक तथा मानसिक विकास सम्भव छ। हालको अवस्थामा सामाजिक दूरी कायम गर्नुपर्ने हुँदा एक्लोपनको महशुस हुने गर्छ। यसको कारणले निराशा, तनाव बढ्न सक्छ। त्यसैगरी डर लाग्ने, चिन्ता लाग्ने, छटपटी हुने, निद्रा गडबड हुने, नराम्रो तथा डरलाग्दा सपना देख्ने, सानो कुरामा पनि रिस उठ्ने, मन आत्तिने, रून मन लाग्ने, बेचैनी हुनेजस्ता मनोविकारहरू देखिन सक्छन् भने पाचन प्रक्र यामा गडबडी उत्पन्न भई अपच, ग्यास्ट्रिक हुने, छाती, टाउको दुख्ने, पूरै शरीर दुख्ने वा पालैपालो शरीरका विभिन्न अंगहरू दुख्ने, रिंगटा लाग्नेजस्ता शारीरिक लक्षणहरू पनि देखिन सक्छ, जुन मानसिक कारणले भएको हुन सक्छ।

मानसिक स्वास्थ्य समस्यामा जोखिम समूह

१. स्वास्थ्यकर्मी – २ जनवरीदेखि ३ फेब्रुअरी २०२० सम्मको मनोवैज्ञानिक अनुसन्धान (जियांवो लाइ र एट अल, २०२०) को आधारमा सम्पूर्ण स्वास्थ्यकर्मीको ४२ प्रतिशत स्वास्थ्यकर्मीहरू प्रत्यक्ष बिरामीको सम्पर्कमा आएका थिए। जसमध्ये ५० प्रतिशतलाई डिप्रेसन, ४३ प्रतिशतलाई चिन्ता, ३४ प्रतिशतलाई निद्राको गडबडी, ७२ प्रतिशतलाई तनाव देखिएको थियो। कोरोनाको उच्चजोखिम रहेको चीनको वुहानमा बिरामीको प्रत्यक्ष हेरचाहमा संलग्न महिला नर्सहरूमा लक्षण बढी भेटियो।

यसरी हेर्दा कुनै पनि महामारीमा प्रत्यक्ष रूपमा संलग्न हुने वर्ग भनेको स्वास्थ्यकर्मी नै हुन्छन्। यसको प्रत्यक्ष असर पनि यिनीहरूलाई नै पर्न जान्छ। रोगबाट संक्रमित हुने जोखिम त छँदै छ, मनोवैज्ञानिक असरको जोखिम पनि यिनीहरूलाई बढी हुने गर्छ।

२. जेष्ठ नागरिक – त्यसै पनि उमेर बढ्दै जाँदा केही न केही मानसिक समस्याको सिकार भएको पाइन्छ। त्यसमा पनि हाल लकडाउनको अवस्थामा बिना हिँडडुल घरभित्रै रहनुपर्दा एक्लोपनले सताउन सक्छ। जसले गर्दा निरासा बढ्न सक्छ। मन उदास हुन्छ। विभिन्न खालको चिन्ताले सताउन सक्छ। मनमा नकारात्मक भाव पैदा हुन्छन्। यसले मनोविकारको रूप धारण गर्छ।

३. महिला- महिला वर्ग मानसिक स्वास्थ्य समस्याबाट जोखिमको स्थितिमा रहेको विभिन्न अध्ययनले देखाएको छ। महिलाको शारीरिक अवस्थामा आएको परिवर्तनसँगै हर्मोनमा परिवर्तन आउँछ। यसको कारणले मानसिक अवस्थामा परिवर्तन आउनुका साथै भावनात्मक रूपमा असर देखिन थाल्छ। यी कुराहरू सामान्य अवस्थामा रहेको बेलामाहो भने लकडाउनको अवस्थामा यो असर अझ बढी देखिन सक्छ।

जसले गर्दा चिन्ता, तनाव, चिडचिडापन, निद्रामा गडबडी, खानपानमा गडबडी जस्ता समस्या देखिन सक्छ। जसले गर्दा परिवारमाझै झगडा हुने मात्र नभई आत्महत्याको सम्भावना देखिन्छ।

४. बालबालिका – क्रियाशीलतामा नै बालबालिकाको शारीरिक तथा मानसिक विकास सम्भव छ। यिनीहरू जति सक्रिय हुन्छन्, त्यति नै शारीरिक रूपले सबल हुन्छन्। शारीरिक वृद्धिसँगै अर्थात् उमेर अनुसार उनीहरूलाई मानसिक रूपमा सक्रिय राख्नु आवश्यक छ। तर लकडाउनको कारण लगभग २ महिनादेखि घरभित्रै रहनु पर्दा यिनीहरूको शारीरिक तथा मानसिक अवस्थामा असर पर्ने प्रशस्त सम्भावना छ। त्यो असर तुरून्त देखिन पनि सक्छ अथवा अहिले कुनै कारणले (जैविक वा वातावरणीय) दबिएर बस्छ र पछि आफ्नो रूप देखाउन पनि सक्छ।

२०७२ सालको भूकम्पबाट परेको आघात हालसम्म पनि पोस्ट ट्रमाको रूपमा देखा परिरहेको छ।

५. दैनिक ज्यालादारी गर्ने मजदूर – जति बेला जस्तोसुकै संकट वा महामारी आउँछ, त्यसको प्रत्यक्ष र सबभन्दा ठूलो असर यही वर्गलाई पर्छ। यो वर्ग यतिखेर विकराल मानसिक तनावको स्थितिमा छ। दैनिक गुजारा कसरी गर्ने ? यो मानिसको सबभन्दा ठूलो समस्या हो। यसको कारणले सबभन्दा छिटो मानसिक तनाव सिर्जना हुन्छ।

यो तनावले मानिसलाई जस्तो स्थितिमा पनि पुर्‍याउन सक्छ। ऊ मर्न पनि सक्छ र मार्न पनि सक्छ। अर्कोतिर रोगको संक्रमण हुने डर छ। यो चिन्ताले मानिसलाई भित्रभित्र सताइरहेको छ। यसको कारणले पनि दिन प्रतिदिन मानसिक तथा भावनात्मक रूपले कमजोर हुनसक्छ मानिस।

यस्तो अवस्थामा चिन्ता लाग्नु, तनाव बढ्नु सामान्य हो। तर यो अवस्था बारबार अथवा लामो समयसम्म रही रह्यो भने अब आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। किनकी भोलि फेरि हामीले आफ्नो काम सम्हाल्नु छ। पहिलेकै अवस्थामा फर्कनु छ।

त्यसैले हामी मानसिक रूपबाट स्वस्थ अवस्थामा रहनु आवश्यक छ। आफूलाई बुझौं, के म मानसिक रूपमा स्वस्थ छु। वा यी माथिकामध्ये मलाई कुनै लक्षण देखिँदै छ? यदि कुनै समस्या देखिएमा मानसिक तनाव कम गर्ने उपायहरू अपनाउनु पर्छ। त्यसबाट पनि भए/ नभने मानसिक स्वास्थ्य विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ। (लेखक मनोसामाजिक परामर्शदाता हुन्।)

प्रतिकृया दिनुहोस्