
एजेन्सी। कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा पाँच हजार नाघेको छ ।
शनिबार भारतमा दुई सय पाँच जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या पाँच हजार एक सय ८५ पुगेको वर्ल्डओमिटरले जनाएको छ।
भारतमा शुक्रबार संक्रमणबाट २ सय ६९ जनाले ज्यान गुमाएका थिए। शुक्रबार त्यहाँ आठ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो। भारमा लकडाउन केही खुकुला हुन थालेसँगै कोरोनाको संक्रमण र मृत्युदर वढ्न थालेको छ।
अहिलेसम्म भारतमा १ लाख ८१ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार एकै दिन त्यहाँ ८ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमित उपचारपछि निको भएका छन्।
विश्वभर कोरोना संक्रमणको कारण ३ लाख ७० हजार ५ सयको मृत्यु भइसकेको छ। गएको २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ४ हजार ७८ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी गएको २४ घण्टामा विश्वभर १ लाख २३ हजार ८८२ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ६१ लाख ५० हजार २ सय ६२ पुगेको छ। यो तथ्यांक आइतबार बिहान ६ बजेसम्मको हो।
।
संक्रमितमध्ये अहिलेसम्म विश्वभर गरेर २७ लाख २९ हजार ९ सय ५५ जना उपचारपछि निको भएका छन्।