News Portal

आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

रातोपोस्ट संवाददाता
४५४ पटक

काठमाडौं : आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो।

अहिलेसम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइसोलेसन एक हजार तीन सय ४९ जना रहेका छन्। आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। देवकोटाका अनुसार शनिबार र आइतबार मृत्यु भएका दुई जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो। यसअघि नेपालमा कोरोनाकै कारण ६ जनाको मृत्यु भएको थियो।

प्रवक्ता देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो। दैलेखका पुरुषको शनिबार मृत्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।

प्रवत्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार पाँच सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार एक सय ९ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार आठ सय ५३ र आरडीटी विधिबाट चार हजार ५४ जनाको नमुना परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस्