News Portal

क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सनट्रेसन क्याम्प : गगन थापा

रातोपोस्ट संवाददाता
१५३२ पटक

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाललाई कोरोनामुक्त देश घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले परीक्षणको दायरा साँधुरो बनाउन भन्दा परीक्षण नै बन्द गरे एक जना पनि संक्रमित नदेखिने बताए ।

‘सरकारले यसो गरे हुन्छ परीक्षण नै बन्द गर्दिने, अनि नेपाललाई कोरोना मुक्त देश भनिदिने’, सरकारलाई व्यंग्य गर्दै सांसद थापाले भने, ‘परीक्षण नभएपछि संक्रमित एक जना पनि देखिदैन । जवाफ चाहियो, जिम्मा कसले लिने हो ?’ उनले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि आजसम्म गरेका कामहरूको हिसाबकिताब खोजेका छन् ।
‘सदनमा कांग्रेसले एउटा–एउटा कुराको हिसाब किताब खोज्छ । कांग्रेस सुतेर बस्दैन अब’, उनले भने, ‘अब टेस्ट गर्ने बन्द गर्दिने ? नेपालमा कोरोना फ्री भन्दिने ? जवाफ चाहियो । भोलि एक दुई वटा निर्धो कर्मचारीलाई सरुवा गरेर दोषबाट भाग्न पाइन्न ।’ थापाले कोरोना रोकथामका लागि भनेर खर्च भएको १० अर्ब कहाँ गयो भनेर सभामुखमार्फत सरकारसँग जवाफ मागेका छन् ।

‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाव चाहिन्छ’, थापाले भने, ‘पाँच हजार पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अर्ब रुपैयाँ हिसाब देखाउनु पर्दैन ? हामीलाई एक एक रुपैयाँको हिसाब चाहिन्छ ।’ उनले राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा चुर्लुम्ब लिप्त हुन भनेको निर्लज्जताको पारकाष्टा भएको बताए ।

उनले पछिल्लो समय क्वारेन्टाइन मान्छे मार्ने थलोको रुपमा देखिएको बताए । प्रधानमन्त्रीले क्वारेन्टिनमा १ लाख ६६ हजार मान्छे बस्न सक्छन् भनेको उल्लेख गर्दै उनले भने, ‘क्वारेन्टाइनमा एक लाख ६६ हजार बस्छन भनेर प्रधानमन्त्री आरामले भनिरहनु भएको छ । मान्छे मार्ने कन्सेन्ट्रेसन क्याम्प हो ?’ ‘अस्पतालको तयारी खै ? यत्रो दिनसम्म लकडाउन थपियो, अब संक्रमतिका लागि अस्पताल खै ? कहाँ कति स्वास्थ्य सामग्री थपियो ? यसको जवाफ चाहिन्छ’, उनले भने ।

थापाले विदेशमा अलपत्र परेकाहरूलाई ल्याउने भनेर गरेको निर्णय कहाँ पुग्यो भनेरसमेत प्रश्न गरे । ‘अहिले कुन एयरलाइन्सले ल्याउने भनेर झगडा गरेर बसेको छ,’ थापाले भने, ‘आउनलाई आतुर भएर बसेका नेपालीहरू माथि बज्रपात गरियो, त्यसको जवाफ चाहिन्छ ।’

प्रतिकृया दिनुहोस्