News Portal

महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

रातोपोस्ट संवाददाता
५६२ पटक

काठमाडौं, असार २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासंघले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासंघको आरोप छ ।

सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफै सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए । ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

२१ गतेपछि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आफूहरूले २१ गतेसम्म आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिए ।

कोरोना भाइरसको सावधानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरेपछि सडकमै आउनु परेको उनको भनाइ छ । गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्