News Portal

भदौ १ गतेबाट पुन : बिदेशमा अलपत्र नेपालीको उद्धारका लागि उडान हुने

रातोपोस्ट संवाददाता
६५१ पटक

काठमाडौं, साउन ३० । कोभिड- १९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ देखि उद्धार गरिने भएको छ। नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न विदेशी एअरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन्।

नेपाल एअरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एअरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उडान तालिका सार्वजनिक गरेका छन्। दुवै एअरलाइन्सले आज नेपालीको उद्धारकालागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन्।

सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्ररूपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ।

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन्। सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ। तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउनेछ भने ३०० जना आफैं टिकट काटेर आउने छन्।

स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६६२ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज मात्रै नेपाल एअरलाइन्सले जापानको नारिताबाट २५४ यात्रु तथा पाँच बच्चा नेपाल ल्याएको छ।

सलाम एअरले मस्कटबाट १७५ यात्रु नेपाल ल्याएको छ। थप नेपालीको उद्धारका लागि नेपाल एअरलाइन्सको जहाज दोहा र हिमालय एअरलाइन्सको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रतिकृया दिनुहोस्