News Portal

सज्जा पहिलो महिला नेपाल आइडल , रेष्टुरेन्टमा गीत गाउँथिन्

रातोपोस्ट संवाददाता
७५४ पटक

काठमाडौं, भदौ १४ । मोरङ पथरीकी सज्जा चौलागाईं पहिलो नेपाल आइडल हुन सफल भएकी छिन्। उनी नेपाल आइडल सिजन–३ को उपाधि चुम्दै पहिलो महिला नेपाल आइडल हुन सफल भएकी हुन्। उपाधिबापत उनले ५० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने भएकी छन् ।

सज्जाले अडिसनदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै दर्शक तथा निर्णायकको मन जित्दै आएकी थिइन् भने यसैका कारण पटक–पटक पर्फर्मेन्स अफ द डे बन्दै आएकी थिइन्। आधुनिक पप जनरामा पर्फेक्ट देखिएकी सज्जाले हरेक चरणमा फरक–फरक जनराका गीत गाएर आफ्नो अलक क्षमता प्रदर्शन गर्दै आएकी थिइन्।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेकी उनी ठमेल, दरबारमार्ग र कमलपोखरी क्षेत्रका रेष्टुराँ, लाउन्ज र होटलहरूमा लाइभ गीत गाउने गर्थिन्। स्नातक अध्ययनरत उनमा डिजाइनर बन्ने चाहना थियो तर नेपाल आइडलले उनलाई आकर्षित ग¥यो।

अन्तर्राष्ट्रियरूपमा ख्याति कमाउन सफल गायन टेलिभिजन रियालिटी शो अमेरिकन आइडलको नेपाली संस्करण नेपाल आइडलको सिजन–३ मा बर्दियाका प्रवीण बेडुवाल फस्ट रनर्सअप र महोत्तरी बर्दिबासका किरणकुमार भुजेल सेकेन्ड रनर्सअप भएका छन्। उनीहरूले क्रमशः १० लाख र ५ लाख रुपियाँ नगद पुरस्कार पाउनेछन्।

नेपाल आइडलको अन्तिम स्पर्धा चल्दाचल्दै त्यसको सुटिङ युनिटका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि यसपटकको शो फरक ढंगले सम्पन्न गरिएको थियो। शुक्रबार राति एपी वान एचडी च्यानलमा प्रसारित नेपाल आइडलको अन्तिम स्पर्धाको कार्यक्रममा युनिटका सदस्यलाई कोरोना पुष्टि भएपछि त्यसका निर्णायक, प्रतिस्पर्धी, सञ्चालकलगायत आइसोलेसनमा बस्नुपरेको जनाउँदै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नतिजा घोषणा गरेको देखाइएको थियो।

अध्यक्ष थापाले कोभिड–१९ को मारमा नेपाल आइडल पनि परेको जनाउँदै पुरस्कार प्रदान गर्ने कार्यक्रम पछिलाई सारिएको जानकारी गराएका थिए। यस सँगसँगै उनले नेपाल आइडल सिजन–४ को समेत घोषणा गरेका थिए। नेपाल आइडलमा गायक तथा संगीतकारद्वय न्ह्यु बज्राचार्य र कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन्।

प्रतिकृया दिनुहोस्