News Portal

उपचार पश्चात घाइते हात्तीलाई पुनः जंगलमै छाडियाे

रातोपोस्ट संवाददाता
९५० पटक

मेचिनगर,२३ असाेज। झापाका विभिन्न स्थानमा आतंक मच्चाउँदै आएको  दृष्टिविहीन घाइते भाले हात्तीलाई बिहीबार उपचारपछि पुनः जंगलमै छाडिएको छ । चितवनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले घाइते हात्तीको उपचार गरेको हो ।

डाक्टर विजयकुमार श्रेष्ठका अनुसार हात्तीको सफल उपचार पश्चात जंगलमा छाडिएकाे छ । विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पुर्‍याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जङ्गलभित्र बेहोस बनाउने गोली हानेर समातेको थियो ।

केही महिनादेखि उक्त हात्ती घाइते भएर जंगलमा रहेको जानकारी पाएसँगै डिभिजन वन कार्यालयले उपचारका लागि पहल गरेको थियो । ‘पिप चुहाउँदै हात्ती जंगलमा घुमिरहेको खबर पाएपछि उपचारका लागि पहल गरेका हौं,’ डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भने । केही समयअघि हात्तीलाई सिकारीले भाला प्रहार गरेको पाइएको छ । जसका कारण शरीरको पछिल्लो भागमा दुई वटा ठूला घाउ बनेको थियो । शरीरका अन्य भागमा पनि घाउहरू भेटिएको उपचारमा संलग्न डा. श्रेष्ठले बताए ।

समाजमा घुलमिल हुँदै आएको यो हात्तीको दायाँ आँखाको दृष्टि पूर्ण रूपमा बन्द रहेकाे र बायाँ आँखाको दृष्टि क्षमता पनि लगभग गुम्न लागेको उपचारमा संलग्न डा.श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्