News Portal

काेराेना जित्नेहरूकाे कथाः खेलाँची हाेइन रहेछ काेराेना

जीत बहादुर खड्का
१३७२ पटक

कोरोना संक्रमणको बारेमा नकारात्मक टिका- टिप्पणी, हल्ला र यसले संसारभर पारेको प्रभाव विभिन्न सामाजिक मिडियाको माध्यमबाट केही न केही रूपमा अवगत नै थियोे । चिनमा फैलेको कोभिड-१९ कोरोना भाईरस व्यापक रूपमा बिश्वब्यापी रूपमा फैलिन्छ र नेपालमा पनि सरकारले नियन्त्रण गर्न नसकेको अवस्थामा महामारीको रूपमा बिकराल रुप लिन्छ भन्ने अनुमान र आँकलन थियो र त्यही नै हुँदैछ। बिस्तारै बिस्तारै चीन बाट युरोपियन मुलुक र अमेरिकन मुलुकमा पनि बिकराल समस्याको रूपमा दैनिक हजारौंको संख्यामा संक्रमण हुने र मर्ने भएपछि अत्यास लागेकै थियो त्यति बिकसित देशले त नियन्त्रण गर्न नसकेको कोरोना हामी जस्तो बिकासोन्मुख देशमा कस्तो होला भन्ने परिकल्पना र कौतुहलता रहेकोे थियो ।

जब हाम्रो देश नेपालको सबैतिर खुल्ला सिमाना भएको देश भारतमा कोभिड-१९ कोरोना भाईरसको बिकराल समस्या भइ दैनिक सयौं र हजारौंको संख्यामा मर्ने र संक्रमित हुने भएपछि नेपाल सरकारले २०७६ साल चैत ११ गते बाट देशभर लकडाउन गर्यो । जिन्दगीमा पहिलोपटक सुनेको लकडाउन र त्यसको अनुभव असाध्यै धेरै पिडादायी थियो । एकछिन पनि बस्न नरुचाउने र काममा ब्यस्त हुन बानी परेको यो ज्यानलाई लकडाउनको बहानामा दिनभरी रातभरि सुतेको सुतेइ गर्दा वाक्क दिक्क भैसकेको थियो । देश नै पुर्ण रूपमा ठप्प थियो शक्तिशाली मान्छे भन्दा बाहेक सर्वसाधारण लाई हिँड्न असाध्यै धेरै पीडा थियो,। त्यो समयमा काम पनि नहुने, पैसा पनि नहुने र कोठामा खाने रासन पनि नभएपछि धेरै मजदुर, बिद्यार्थी, सर्वसाधारण लगायत आर्थिक रूपमा बिपन्न ब्यक्तिहरु काठमाडौ देखि पुर्व काँकडभिट्टा, पश्चिम जुम्ला सुदुरपश्चिम कंचनपुर सम्म महिनौं पैदलै हिँडेको सर्वबिदितै छ ।

धेरै पिडादायी अवस्था सृजना भयो बिशेषगरी पर्यटन क्षेत्र होटल ब्यबसायी, यातायात ब्यबसायी, निर्माण ब्यबसायी लगायत देशमा अर्थतन्त्र डामाडोल अवस्था सृजना भयो, बैंककाे ॠणले तनावग्रस्त बनायो तर सरकारले कुनै ब्यबसायिको लागि जोगाउने कुनै राहतको कार्यक्रम ल्याएन उल्टै कोरोना परिक्षण गर्ने किटको नाममा अर्वौं घोटालाको समाचारले सबै सर्वसाधारण जनतालाई बिक्षिप्त बनायो । जे जस्तै भएपनी जनताले राज्यले बनाएको नीति मास्क अनिवार्य लगाउनु पर्छ भन्ने सिके, भौतिक दुरि कायम गरे जिवनमा प्रयोग नगरेको स्यानिटाईजर प्रयोग गरे हामी ले पनि कार्यान्वयन गर्याैँ। राज्यले कर उठाउने षड्यन्त्रको साथ असारमा लकडाउन खोल्यो। सकेजती कर उठायो र फेरी लकडाउन गर्यो तर के कसरी कोरोना नियन्त्रण गर्न सकिन्छ भनेर बिज्ञले दिएको सुझाव मानेन। साेही त्यसकारण हाल समुदाय स्तरमा नै दैनिक हजारौंको संख्यामा कोरोना संक्रमण बढिरहेको छ। यो हाम्रो लागि असाध्यै धेरै पिडादायी अवस्था हो । कोरोना संक्रमण भएपछिको अवस्था बिश्व महामारीको रूपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरस नेपालमा पनि विभिन्न तवरबाट प्रवेश गर्यो ।( कोभिड -१९) कोरोना भाइरसको बारेमा विभिन्न संचारमाध्यम, टेलिभिजन, फेसबुक, पत्रपत्रिका लगायत विभिन्न तवरबाट प्राप्त गरिन्थ्यो ।

अकस्मात मिति २०७७ साल भाद्र २८ गते ज्वरो आयो। तैपनि म ब्यबसायी भएको कारण निर्माण र ढुवानी सँग सम्बन्धित अलि बढी समय दिने र केही समय विभिन्न सामाजिक संघसंस्था सामाजिक क्षेत्रको पनि प्रमुख भुमिकामा नै आवद्धताको कारणले गर्दा भौतिक रूपमा भन्दा पनि  जुम मिटिङ्ग, लगायत अन्य आवश्यक कार्यमा ब्यस्त रहन्थे । अत्यावश्यक कार्यमा भने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार भौतिक दुरि कायम गरी मास्क लगाई स्यानिटाईजर साथमा नै बोकेर आवश्यक अनुसार प्रयोग गरी मेरो अफिसमा विभिन्न साथीहरू सँग भेटघाट, छलफल गर्ने तथा बाहिरी भेटघाटमा पनि अति संयमता अपनाएर मात्रै भेट्ने गर्दा पनि कसरी -कसरी एक्कासि ज्वरो आयो । दिउँसो ज्वरो सामान्य मात्रै आउने राती १०१  पुग्न थालेपछी मौसम परिवर्तनको कमाल होला भन्ने भयो । निरन्तर रूपमा ३/४ दिन सम्म ज्वरो आएपछि नाक बन्द हुने, कमजोरी महसुस हुने, खान मन नलाग्ने, खानेकुराको कुनै स्वाद नआउने भएपछि न कोरोनाको लक्षण होकि भन्ने डर भयो । एकपटक परिक्षण गर्नुपर्यो भनेर टेकुस्थित अस्पतालमा कोरोना परिक्षणको लागि गएँ। असाध्यै कठिनका साथ लामो लाईन लागेर कोरोना परिक्षण गराएँ र भोलिपल्ट रिपोर्ट आउँदा त कोरोना पोजिटिभ आयो, मत छाँगाबाट खसे जस्तै भएँ के गर्ने नगर्ने मानसिक तनावमा रहें। अस्पताल बुझें काँहि पनी खाली छैन भन्छ । उच्च मनोबलका साथ घरमा नै बसें र बिश्व स्वास्थ्य संगठनले निर्देशित गरेको औषधि, खानेकुरा र ब्यायाम लाई पछ्याएर आफनै बासस्थान लाई क्वारेन्टाइन बनाएर बसें । जब मलाई कोरोना संक्रमण भएको थाहा भयो त्यसपछि मेरो अफिस एक हप्ताको लागि बन्द गरिदिएँ र मेरो दैनिक सम्पर्कमा रहने सबैलाई कन्ट्रयाक्ट ट्रेसिङ्ग मा जान अनुरोध गरें । कोरोना पहिचान भएपछि दिनदिनै मलाई ज्वरोले धेरै गाल्यो । निरन्तर रूपमा ९ दिनसम्म ज्वोरो आयो, २ दिनसम्म पखाला लाग्यो, टाउको पनि निरन्तर रूपमा ७२ घन्टा सम्म दुख्यो। यति लामो समय टाउको दुखेको थाहा थिएन जति औषधि खाँदा पनि ठिक नहुने, जब मध्य रातको समय भयो श्वासप्रश्वास प्रक्रियामा व्यापक रूपमा समस्या आउन थाल्यो।  त्यसपछि मलाई बाँच्दिन कि भन्ने डर लाग्यो अब के गर्ने कसो गर्ने तनाव भयो अनि गाउँ बाट बुबालाई बोलाएँ। बुबा खवर सुन्ने बित्तिकै आउनु भयो । खोकी पनि लाग्यो यस्तो खोकी लागेको कहिल्यै थाहा थिएन खोकी लाग्दा छाती नै फुट्ने गरी लाग्ने, खोकी ले नै लान्छ कि झैं हुने मानसिक रूपमा पनि कमजाेर बनायो ।

यसलाई जित्नको निमित्त टन्नै खानुपर्छ भनेर बिहानै उठ्ने बित्तिकै सामान्य ब्यायाम गर्ने, तातोपानीको बाफ लिने अनि गुर्जो दैनिक १ गिलास खाने, कालो चिया, बेसार पानी १ गिलास, हट लेमन सँगै मह १ गिलास, ब्रेकफास्टमा उसिनेको अन्डा २ वटा, पाउरोटी २ पिस र १ गिलास दुध, बिहानको खाना समयमै खाने, दिउँसो नास्ता खाने, झोलिलो मसरुम, चिकेन सुप खाने बेलुकी माछा मासु सहित खाना खाने र निरन्तर रूपमा तातोपानी दैनिक ५ लिटर,बाफ दिनको ३ पटक लिने गरेसी धेरै मात्रामा राहत महसुस भयो । औसधिको रूपमा डाक्टरको सल्लाह अनुसार ज्वरो आउँदा सिटामोल खाने, टाउको दुख्दा निम्स खाने, पखाला लाग्दा जिवनजल खाने, खोकी लाग्दा एलेग्रा खाने अनि भिटामिन क्याप्सुल खाएर बसियो। यसलाई २ हप्तासम्म निरन्तरता दिएपछि धेरै मात्रामा ठिक भएको महसुस भयो । ज्वरो पनि ठिक भयो पखाला बन्द भयो, टाउको दुख्न पनि ठिक भयो खोकी चाहिँ अझै बाँकी नै छ तर पहिलेको तुलनामा धेरै ठिक भयो खानेकुराको पनि स्वाद आयो अनि अब कोरोना जितें भन्ने महसुस भयो । अनि बिस्तारै कामको लयमा आउन लागें अत्यावश्यक काममा मात्रै बस्न थालें नत्र शरीर लाई आराम दिन लागें।

 कोरोना संक्रमण पछि सबैलाई ख्याल ख्याल रूपमा नसोच्न आग्रह गर्दछु। हाल कोभिड-१९ कोरोना भाईरसको बिषयमा व्यापक रूपमा विभिन्न किसिमका टीका टिप्पणी हुन थालेका छन कोरोनाको संक्रमण मान्छे अनुसार फरक फरक लक्षणहरु देखा परेको छ । कसै- कसैलाई बिना लक्षण पनि कोरोना पोजिटिभ देखिएको छ,  कसैलाई सामान्य मात्रै लक्षण देखिएको छ भने कसैलाई धेरै गार्हो पनि बनाएको छ। यसमा कि कोरोनाको किसिम फरक फरक किसिमको छ या मान्छेको शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताको आधारमा यसको लक्षण देखा परेको छ। जे सुकै होस मेरो अनुभवको आधारमा यसलाई कमजोर रूपमा नआँक्न हार्दिक अनुरोध गर्दछु । अहिले कोरोना केहि हैन सामान्य रुघा ज्वरो हो र बेसार पानी खाएर हाँच्छिउ गरेसी भाग्छ भन्ने हौवा फैलाएको कारण धेरै मान्छेहरुको ज्यान अकालमा गएको र असाध्यै धेरै जोखिममा रहेको देखिन थालेकाे छ। त्यसैले यसलाई कमजोर रूपमा नसोची आत्मबल बलियो बनाई बढी भन्दा बढी पौष्टिक आहारा खाई बिश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्य नीति अपनाई केही असहज भएमा डाक्टरको सल्लाह अनुसार अघि बढ्नको निमित्त हार्दिक अनुरोध गर्दछु। साथै सामान्य ढंगबाट सोचिदिँदा मान्छेहरुको अकालमा नै ज्यान जान सक्छ । यसैगरी अब जहाँ सुकै हिँड्दा बस्दा पनि जति पनि मान्छेहरु रहेका छन सबै मान्छेहरु संक्रमित हुन हामी के कसरी स्वास्थ्य सुरक्षा अपनाउन सकिन्छ साेहि अनुरूप भौतिक दुरि कायम गर्ने, अनिवार्य रूपमा मास्कको प्रयोग, स्यानिटाईजर प्रयोग गरि आफ्नो घर भन्दा बाहेक काहीँ पनि बसेर केही नखाने नीति अबलम्बन गर्नको निमित्त अनुरोध गर्दछु । साथै नियमित रूपमा शारीरिक ब्यायाम र पौष्टिक आहारमा पनि विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।
लेखकः नेपाल युवा संस्था सञ्जाल आयोनको कोषाध्यक्ष तथा ताँबे बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि.का अध्यक्ष तथा कार्यकारी निर्देशक जित ब खड्का हुन्।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal