News Portal

अस्पताल सञ्चालकसहित विराटनगरमा चार कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
४९० पटक

विराटनगर, ३ कात्तिक। पछिल्लाे २४ घण्टामा विराटनगरमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक पनि हुन्। उपचारका क्रममा दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा ज्यान गएको हो।

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजेतिर वृद्धको मृत्यु भएको हो। निमोनियाको समस्या रहेको भन्दै अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजिटिभ आएको दाहालले बताए। उनका अनुसार रिपोर्ट पोजिटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।

त्यस्तै नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोना पुष्टि भए पनि उनलाई होम आइसोलेसनमै राखिएको जानकारी दाहालले दिए। उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो।

यता विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित वृद्धा महिलाको ज्यान गएको छ। विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार असोज १९ गते कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो।

यसैबीच विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ। न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए।

मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लिका सञ्चालक हुन्। पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आउनुभन्दा अघिल्लै दिन श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजन दिएर राखिएको उनले बताए।

रिपोर्ट पोजिटिभ आएर थप समस्या भएपछि २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो। आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा धेरै समस्या थपिएपछि थप उपचारका लागि भेन्टिलेटरमा राख्नु परेको आचार्यले बताए। भेन्टिलेटरमै उपचारका क्रममा उनको ज्यान गएको हो। आचार्यका अनुसार मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो। उनी मृगौलाको नियमित डाइलासिस गराउँदै आएका बिरामी हुन्। स्राेतः अन्नपुर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्