
काभ्रे , ५ कात्तिक। काभ्रेकाे धुलिखेल अस्पतालले कोरोना भाइरस (काेभिड-१९) संक्रमित विरामीहरूका लागि कम्तिमा ५० हजार धरौटी रकम बुझाएर मात्र अस्पतामा भर्ना गर्नुपर्ने सूचना निकालेको छ ।
धुलिखेल अस्पतालले कात्तिक ३ गते सुचना जारी गर्दै नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे कात्तिक २ गतेकाे निर्णयअनुसार शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने भन्दै भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्नुपर्ने बताएकाे छ।
सूचनामा सामान्य लक्षण भएका बिरामीले ५० हजार धरौटी राख्नुपर्ने, मध्य जटिल बिरामीले १ लाख र जटिल बिरामीको उपचारका लागि २ लाख धरौटी राख्नुपर्ने जनाइएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि सरकारले तोकको लक्षित समूह बाहेकका सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय धेरै अस्पताहरुले कार्यान्वयनमा ल्याइसकेका छन् ।
आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले निःशुल्क परीक्षण र उपचार गर्ने मन्त्रालयले जनाएको छ । जसमा कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट काटिने छ ।