News Portal

दशैंको मुखमा घर­घरमै पुर्याए वडा अध्यक्ष तामाङले भत्ता

रातोपोस्ट संवाददाता
५९९ पटक

झापा । मेचीनगरका अन्य वडाहरुमा दशैं सुरु भइसक्दासमेत सामाजिक सुरक्षा भत्ता वितरण नभईरहँदा मेचीनगर–६ ले भने भत्ता वितरण गरेको छ । वडा अध्यक्ष ललित तामाङको अगुवाईमा जनप्रतिनिधि र टोल विकास समिति अध्यक्षहरुसहितको टोलीले शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म घरघरै पुगेर भत्ता वितरण गरेका हुन् ।

दशैंको मुखमा भत्ता आउला की नआउला भन्ने दोधार भइरहेकाबेला वडा नम्बर ६ का घर­घरमै भत्ता आएपछि एकल महिला, शारीरिक अशक्त र बृद्धबृद्धामा खुशीयाली छाएको छ ।

दशैंकाबेला मेचीनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता सरोकारवाला व्यक्तिको बैंक खातामा जम्मा गरिदिएको थियो । भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड­१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता बापतको रकम बाँड्न मानेको थिएन । तर, वडा अध्यक्ष तामाङले घर­घरमै पुगेर सेवा दिइएको बताएका छन् ।

कोरोनाको विषम् परिस्थितिमा बैंकसँग समन्वय गरी वडा अध्यक्ष तामाङले सामाजिक सुरक्षा भत्ता एकल महिला, शारीरिक अशक्त र बृद्धबृद्धाको घरमै पुर्याएका हुन् ।

चारदिनसम्म जनप्रतिनिधि र कर्मचारी खटाएर घर­घरमै पुगेर दशै खर्चबिहीन बनेका ७३८ जनाको चेक संकलन गरी बैंकबाट रकम निकालेर घरघरमै भत्ता पुर्याइएको अध्यक्ष तामाङ बताउँछन् ।

एकल महिला १७७, ज्येष्ठ एकल महिला १३४, ज्येष्ठ नागरिक ३८६, ज्येष्ठ दलित १२ जना, दलित बालबालिका ३ जना क र ख वर्गका अपाङ्गता भएका १३÷ १३ जनालाई चार महिनाको ७३ लाख ६४ हजार ७५५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्