News Portal

  • सुन्धारामा रहेको मस्जिदमा भूमाफियाद्वारा डोजर लगाएर तोडफोड

    रातोपोस्ट संवाददाता
    २६८ पटक

    काठमाडौं, ८ कात्तिक । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्। एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ।

    निर्माणधीन धरहराको ठीकपछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन्। मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए। यसअघि पनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए।

    यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका वडा नं २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैं मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन्। यता आजको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ। मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताए।

    यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो। यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन्। आज भन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढ्ने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)