News Portal

नक्कली डिएसपी पक्राउ

रातोपोस्ट संवाददाता
१०९० पटक

काठमाडौं, १७ कात्तिक । नक्कली डिएसपी बनेर फोनमा धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। नक्कली डिएसपी बनेका सर्लाहीको रामनगर गाउँपालिका–६ का बब्लु झालाई महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो।

कात्तिक १३ गते दिउँसो सवा ३ बजेतिर बानेश्वर बस्दै आएका ४१ वर्षीय चन्दु झालाई एक व्यक्तिले फोन गर्दै आफू महानगरीय प्रहरी वृत्त कालीमाटीको डिएसपी भएको बताएका थिए।

‘म कालिमाटीको डिएसपी बोलेको। तपाईंको बब्लु झा नाम गरेका व्यक्तिसँग के लफडा हो? तुरुन्त कालिमाटी वृत्तमा आउनुस् नत्र कारबाही अघि बढाउँछु,’डिएसपी बनेर फोन गरेका ती व्यक्तिले भनेका थिए।

फोनमा उक्त धम्की आएपछि चन्दुले महानगरीय प्रहरी वृत्त कालिमाटी गएर यसबारे बुझेका थिए। तर कालिमाटी वृत्तबाट कसैलाई फोन नगरेको जानकारी आएपछि चन्दुले अपरिचित ती व्यक्तिविरुद्ध कालिमाटी प्रहरीमै जाहेरी दिएका थिए।

जाहेरीमा उल्लेख गरिएको फोन नम्बरको आधारमा नक्कली डिएसपी बनेर फोनबाट धम्क्याउने बब्लुलाई प्रहरीले पक्राउ गरेको हो। बब्लुको चन्दुसँग विवाद भएपछि बब्लु आफैंले नक्कली डिएसपी बनेर चन्दुलाई फोन गर्दै ‘बब्लुसँग के लफडा हो?’ भनेको पाइएको वृत्त कालिमाटीले जनाएको छ।

प्रतिकृया दिनुहोस्