News Portal

प्रचण्डले बोलाएर धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक

रातोपोस्ट संवाददाता
४६४ पटक

काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवायको अनौपचारिक बैठक बोलाएका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटार आउँदिन’ भनेर हिँडेका अध्यक्ष प्रचण्डले आज सचिवालय सदस्यहरुसँग पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो तीन बजे छलफल गर्न लागेका हुन् ।

शुक्रबार बिहान आफूलाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङलाई अध्यक्ष प्रचण्डले सचिवालय सदस्यसँग छुट्टै छलफल गर्ने जानकारी दिएका छन् ।

भेटवार्ताका क्रममा नेता नेम्वाङले अध्यक्ष प्रचण्डलाई ‘तपाई बालुवाटार आउँदिन भन्नु भएको हो ?’ भनेर सोधेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले सचिवालय सदस्यहरुसँगको छलफलपछि भोली नै बालुवाटार जाने बताएको नेता नेम्वाङले जानकारी दिए ।

उनले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए । आजको सचिवालय बैठकमा प्रधानमन्त्री अ‍ोली बाहेक अन्य सबैलाई निम्तो गरिएको छ ।

नेकपा सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल रहेका छन् ।

प्रतिकृया दिनुहोस्