News Portal

नेपालमा कोरोनाका सक्रिय संक्रमित घटे, काठमाडौं उपत्यकामा अब ७५ सय मात्रै

रातोपोस्ट
७१७ पटक

काठमाडौं, १८ मंसिर । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४९० जना सङ्क्रमित हुँदा एक हजार ५६७ जना सङ्क्रमणमुक्त भएका छन्।

बुधबार थपिएका संक्रमितमध्ये पुरुष ९२५ र महिला ५६५ छन्। बुधबार संक्रमणमुक्त भएका एक हजार ५६७ समेत गरी अहिलेसम्म दुई लाख १८ हजार १६१ संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबारसम्म नेपालमा कोरोना निको हुने दर ९२ दशमलव तीन प्रतिशत छ। निको हुनेदर घटेपछि सक्रिय सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ मा झरेको मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षण गर्नेमध्ये अहिले १३ दशमलव पाँच प्रतिशतमा संक्रमण दर छ। बुधबार थप भएकासँगै नेपालमा संक्रमितको सङ्ख्या दुई लाख ३६ हजार २४६ पुगेको छ।

काठमाडौँ उपत्यकामा हिजो ७२३ सङ्क्रमित थप भएका छन् । उपत्यकामा हाल काठमाडौँमा छ हजार ६५०, ललितपुरमा एक हजार ४०४ र भक्तपुरका ५७५ सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ७४१ होम आइसोलेसन र पाँच हजार ८०६ संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ६२९, प्रदेश २ मा २९८, वाग्मती प्रदेशमा छ हजार ७८८, गण्डकी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ६२४, कर्णाली प्रदेशमा १०८ र सुदूरपश्चिम प्रदेशमा ५४५ रहेको छ।

देशभरमा गरी बुधबारसम्म ३६५ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ३२, प्रदेश २ मा सात, वाग्मती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेश १२ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिम दुई गरी जम्मा ६४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन्।

आइतबारदेखि बुधबारसम्ममा गरी ३४ हजार ८०२ नमूना परीक्षण भएको छ । यो अवधिमा पाँच हजार ५२३ सङ्क्रमित भए भने छ हजार ९७५ सङ्क्रमणमुक्त भएका थिए । यो अवधिमा नै ८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोभिडका कारण थप नौ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५३८ पुगेको छ। नेपालमा कोरोनाबाट हुने मृत्यु दर शून्य दशमलव ६५ प्रतिशत छ। यो सङ्ख्या प्रतिदश लाख पोजिटिभमा ५२ दशमलव सात हो। रासस

प्रतिकृया दिनुहोस्