News Portal

भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति पक्राउ

रातोपोस्ट
९३९ पटक

विराटनगर,१९ मंसिर। भारतबाट हतियार नेपाल भित्र्याएर बिक्री गर्ने गरेको भन्दै एक जनालाई मोरङको सुनवर्षीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल पनि फेला परेको छ । सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डल झुँगी चोकबाट पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

शुक्रबारदिउँसो पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद भएको राईले जानकारी दिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार एउटा होटलमा मदिरा सेवनका लागि बसेका मण्डलले कम्मरमा भिरेको पेस्तोल स्थानीयले देखेका हुन् । कम्मरमा हतियार देखेर स्थानीय बासिन्दाले खवर गर्ने वित्तिकै परिचालित प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको जानकारी उनले दिए ।

उनका अनुसार पक्राउ गरेर अनुसन्धान थालेपछि उनले बिक्रीका लागि पेस्तोल भारतको भागलपुरतिरबाट ल्याएको खुलेको छ । पक्राउ परेका मण्डलले भने कसलाई बिक्रीका लागि पेस्तोल ल्याएको हो भन्ने खुलाएका छैनन् । उनको साथबाट बरामद भएको मोबाइलको कल डिटेल्सका आधारमा हतियार किन्न खोज्ने व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको एसपी खड्काले बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट खुलेका विवरण, पक्राउ परेका व्यक्तिबाट प्राप्त सूचना र उनको कनेक्सनका आधारमा हतियार खरिद गर्नेसम्म पुग्न प्रहरीले प्रयास गरिरहेको छ । पक्राउ परेका व्यक्तिले भने पैसा कमाउनका लागि भागलपुरबाट ल्याएर हतियार महँगोमा बिक्री गर्ने गरेको प्रहरीलाई बताएका छन् । उनले कतिमा हतियार खरिद गर्थे र नेपाल ल्याएर कति रुपैयाँमा बिक्री गर्थे भन्ने बारेमा खुल्न बाँकी रहेको एसपी खड्काको भनाइ छ ।

मण्डलको विगतको पृष्टभूमि हेर्दा पनि हतियारको कारोबारसँगै जोडिएको उनले बताए । मण्डल सात वर्षअघि हतियारसहित पक्राउ परेको प्रहरी दाबी छ । यसअघि हतियारसहित पक्राउ परेका उनी जेल सजाय भुक्तान गरेर छुटेको र पुनः हतियारकै कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ । प्रहरीले शनिबार सार्वजनिक विदा भएकाले उनी कति वर्ष जेल गएका हुन् र अदालतले कहिले दोषी ठहर गरेको हो भन्ने बारेमा खुल्न नसकेको बताएको छ ।

हतियारसहित पक्राउ परेपछि अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको र सजाय भुक्तान गरेर मण्डल छुटेको पाइएको एसपी खड्काले बताए । तर कहिले र कति वर्ष जेल बसेर छुटेका हुन् भन्ने बारेमा यकिन हुन बाँकी रहेको उनको भनाइ छ । विगतको पृष्टभूमिको अध्ययन गर्दा पनि उनी हतियारका कारोबारी भएको पुष्टि हुने प्रहरी दाबी छ ।

‘विगतदेखिनै भागलपुरतिरबाट लुकाईछिपाई हतियार नेपाल ल्याउने गरेको पाइयो,’ एसपी खड्काले भने, ‘नेपाल भित्राएपछि विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ मण्डलबाट पेस्तोल खरिद गर्नेहरुले नेपालमा अपराधिक गतिविधी सञ्चालन गर्ने गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–५ बाट हतियारसहित पक्राउ परेका राजकुमार मण्डल र उनको साथबाट प्रहरीले बरामद गरेको पेस्तोल, गोली तथा नगद र मोबाइल । समाचार स्राेतः अन्नपुर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्