News Portal

प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न धनगढी जाँदै,

रातोपोस्ट संवाददाता
७२७ पटक

काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी जाँदै छन् । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।

प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम (ओली समूह) को तयारी छ। जनसभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा खटिएका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका हुन्। प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ। नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन्। तर ओलीले सुदूरपश्चिममा आफ्नो पकड जमाउन प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट मात्रै तीनजनालाई संघीय सरकारको मन्त्री बनाएका छन्। धनगढीको जनसभामार्फत प्रधानमन्त्री ओली देश दौडाहामा निस्कन लागेका छन्। प्रधानमन्त्री ओलीले देशव्यापी अभियानको सुरुवात सुदूरपश्चिम प्रदेशबाट गरेका हुन्। ओली आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्