News Portal

प्रधानमन्त्रीलाई झापाबाट प्रचण्ड-नेपाल समुहले पठायो विरोधपत्र सहित एक थान संविधान

रातोपोस्ट संवाददाता
८१८ पटक

झापा, २४ पुष । नेकपाको प्रचण्ड-नेपाल समुह झापाले नेपालको संविधान, २०७२ को भाग ७ धारा ७६ का विभिन्न बुँदामा उल्लेखित प्रावधान अध्ययनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्रसहित एक थान संविधान पठाएको छ । उक्त संविधानको प्रति जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो।

नेपालको संविधान, २०७२ को भाग ७ धारा ७६ को १, २, ३, ४, ५, ६ र ७ सम्मका बुँदा अध्यनका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनामार्फत प्रधानमन्त्री ओलीलाई पढ्न पठाइएको जिल्ला सङ्घर्ष समितिका सचिव मणिकुमार साम्पाङ (विजय) ले बताए ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सङ्घर्ष समितिका संयोजक रविन कोइराला, केन्द्रीय सदस्य एवम् सह–संयोजक धर्मशिला चापागाई, सचिव मणिकुमार (विजय) साम्पाङ, प्रदेश कमिटी सदस्यहरुसहित ५ सय भन्दा बढीको सङ्ख्यामा गएको समूहले प्रशासन कार्यालय परिसर भित्र विरोधपत्र र एक थान नेपालको बुझाएको थियो । कार्यक्रममा अर्जुनधार नगरका मेयर हरिकुमार राना, भद्रपुर नगर उपमेयर चन्द्रमाया श्रेष्ठ, राष्ट्रिय युवा संघ झापा इञ्चार्ज कुमार आचार्यलगायत उपस्थिती रहेको नेकपा नेता नरेश सञ्जेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्