News Portal

निर्वाचनको सुरक्षामा लाग्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

रातोपोस्ट संवाददाता
४५६ पटक

काठमाडौं, २६ पुष । गृहमन्त्री रामबहादुर थापाले बैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आइतबार गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

उनले भने, ‘तपाईंहरूको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्।’ उनले थपे, ‘तपाईंहरूको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आइलागेको छ। लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइदैन।’

थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन निर्देशन दिए। उनले भने, ‘तपाईंहरुलाई कुनै कठिनाई आइपरे  गृह मन्त्रालय तपाईंहरुको साथ हुनेछ।’ कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री पनि सहभागी थिए।

प्रतिकृया दिनुहोस्